काठमाण्डौ । यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा एकैपटक ७०० रुपैयाँले बढेको छ ।

कोरोनाभाइरसको चपेटामा परेको विश्वबजारमा सुरक्षित लगानीका लागि सुन लगानीकर्ताको मुख्य रोजगाइ बनेसँग यसको माग र भाउ बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न थालेको हो । सुनको भाउ बिहीबार तोलमा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७६ हजार रुपैयाँ पुगेको हो । यो माघ महिनाकै उच्च भाउ पनि हो । हिजो बुधबार तोलामा ४०० रुपैयाँले घट्दै सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

गत सोमबार सुन तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यो साता कारोबारको पहिलो दिन प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबार तेस्रो दिन मंगलबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वबजारमा कोरोनाभाइरसका कारण सुनको भाउ प्रतिऔँस १ हजार ६०० डलरको आसपासमा रहेको छ । कोरोनाभाइरसले अन्य क्षेत्रमा लगानी असुरक्षित भएपछि लगानीकर्ताहरुले अहिले धमाधम सुनमा लगानी गरिरहेका छन् । यसले गर्दा सुनको मागसँगै भाउ पनि बढेर विश्वबजारमा प्रतिऔँस सुनको भाउ २ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । 

यदि कोरोनाभाइरस बेलैमा नियन्त्रण नभए अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् । यदि सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ पुग्ने निश्चित छ ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला ८८० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार चाँदी प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको थियो ।