काठमाण्डौ । विगत धेरै समयदेखि साइड वेजमा रहेको सेयरबजारमा सोमबार थोरै तन्कने प्रयास गर्दागर्दै साता सेयर कारोबारको चौथो दिन बुधबार थोरै अंकले गिरावट आएको छ ।

मुख्यतः लगानीकर्ताको मनोबल नउस्कनु नै बजार गिरावटको मुख्य अवरोध बनिरहेको बेला बैंकहरुले धमाधम ऋणपत्रहरुको बाढी ल्याउँदासमेत बजारको पैसा पलायन भइरहेको पाइन्छ । निष्कासन भएका ऋणपत्रहरुमा वार्षिक १० प्रतिशत बढी ब्याजदर सुनिश्चित भइदिँदा बजारमा संस्थागत लगानीकर्ताको प्रवेश शून्यप्राय छ ।

यसैगरी ठूला कारोबारीहरुसमेत अहिलेको स्थिर नेप्से इन्डेक्समा आकर्षित नबन्दा कारोबार रकमसमेत करिब २० करोडमै सीमित बनेको छ ।

आज नेप्से इन्डेक्स हिजोको तुलनामा ४.८० अंकले गिरावट आउँदा नेप्से इन्डेक्स ११३५.१६ अंकमा सीमित भयो । सूचीकृत कम्पनीमध्ये १५४ कम्पनीका ९ लाख ८ हजार ३६३ कित्ता सेयर २७ करोड ५४ लाख २७ हजार ८८६ रुपैयाँमा कारोबार भएको छ ।

आजको दिन नेप्सेको ११ उपसमूहमध्ये कारोबार, वित्त र अन्य उपसमूहमा हरियो पोतिएकोमा बाँकी आठ उपसमूहमा रातो पोतिएको छ । करिब ५ प्रतिशतले बढोत्तरी आएको कारोबार उपसमूहमा वित्त र अन्य उपसमूहमा भने क्रमशः ०.२ र ०.०१ प्रतिशतले वृद्धि भयो ।

यसैगरी बैंकिङ, होटल्स, विकास बैंक, हाइड्रो पावर, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र म्युचुअल फन्डमा क्रमशः ०.५, ०.४४, ०.१८, ०.४९, ०.१२, ०.८४, ०.८१ र १.२२ प्रतिशतले गिरावट आयो ।

आज बुधबारका दिन कारोबार भएका पाँच कम्पनीहरुमध्ये चारवटा वाणिज्य बैंकले उच्च कारोबार गरेका छन् । एनएमबी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल बैंक लिमिटेडले क्रमशः ३१ करोड २९ लाख, २१ करोड २४ लाख, १७ करोड ९२ लाख र १४ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार गरे । जसमध्ये साल्ट ट्रेडिङको मात्रै २० करोड ५० रुपैयाँबराबरको कारोबार भयो ।

करिब ८ प्रतिशतले बढाएर म्याचिङ कारोबार गर्न सफल साल्ट ट्रेडिङको ८५८ रुपैयाँ कारोबार भएको थियो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुले आज सो कम्पनी सेयरमूल्यमा ५.५१ प्रतिशतले घटेर धेरै गुमाए।