काठमाण्डौ। गत भदौमा मुक्तिनाथ एयरलायन्स किनेको प्रभु ग्रुप (समूह)ले सिम्रिक एयरलायन्सको ६० प्रतिशत सेयर खरिद गर्ने भएको छ ।  

गु्पले शुक्रबार सिम्रिक एयरलायन्सको ६० प्रतिशत सेयर खरिदका लागि सम्झौता गरेको हो । यससँगै प्रभु समूहले हवाईजहाजसहित उड्डयन क्षेत्रमा उपस्थिति जनाउने भएको छ ।  

सिम्रिक एयरलायन्स स्रोतले कम्पनीको ६० प्रतिशत सेयर प्रभु गु्रपले लिने सम्झौतामा हस्ताक्षर भइसकेको जानकारी दियो । सेयर एक महिनाभित्रमा हस्तान्तरण हुने स्रोतले जानकारी दियो । सिम्रिक एयरलायन्सको नयाँ जहाज, व्यवस्थापन र ब्रान्डिङका लागि प्रभु गु्रप सिम्रिकमा प्रवेश गरेको सिम्रिक व्यवस्थापनले जनाएको छ ।  

अहिले सिम्रिकको विभिन्न बैंकमा रहेको ऋणलगायतको विषयमा दुवै पक्षको सहमतिमा लेखापरीक्षण (ड्यु डेलिजेन्स अडिट–डिडिए) भइरहेको छ । लेखापरीक्षण सकिएपछि त्यसको आधारमा सेयर हस्तान्तरण हुने कम्पनी स्रोतले बतायो । बैंक, बिमा र रेमिट्यान्स कम्पनी सञ्चालन गरिरहेको प्रभु ग्रुपले गत वर्षको भदौमा पोखरामा आधार बनाएर उडिरहेको मुक्तिनाथ एयरलायन्स खरिद गरेर उड्डयन व्यवसायमा हात हालेको थियो ।  

गु्रपले अहिले मुक्तिनाथ एयरलायन्सको नाम परिवर्तन गरेर प्रभु हेलिकोप्टर बनाइसकेको छ । प्रभु हेलिकोप्टर प्रालिसँग २ वटा हेलिकोप्टर छन् । रामेश्वर थापा समूहसँग रहेको एयरलायन्सको सेयर प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले लिएको हो । अब सिम्रिक एयरलायन्समा प्रभु गु्रपको ६० प्रतिशत, रामेश्वर थापाको २० प्रतिशत र राजेन्द्र शाक्यको २० प्रतिशत सेयर हुनेछ । ६० प्रतिशत सेयर लिएसँगै प्रभु गु्रपले तत्काल सञ्चालन खर्चका लागि १० करोड लगानी गर्ने भएको छ ।  

बहुमत सेयर लिएपछि कम्पनीको अध्यक्षमा प्रभु म्यानेजमेन्ट प्रालिको प्रतिनिधि हुनेछन् । नयाँ व्यवस्थापनले कम्पनीको नाम, लोगो र ब्रान्डिङ परिवर्तन गर्न सक्ने दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच ३१ डिसेम्बरसम्म सम्पूर्ण हिसाबकिताब मिलान गरेर त्यसपछि नयाँ व्यवस्थापनमार्फत कम्पनी सञ्चालन हुने स्रोतले जानकारी दियो । आजको नयाँपत्रिकाले लेखेको छ ।  

सिम्रिक एयरलायन्ससँग अहिले ४ वटा जहाज छन् । सिम्रिकले अहिले काठमाडौंबाट भैरहवा, पोखरा, लुक्ला र माउन्टेन फ्लाइटका लागि नियमित उडान भरिरहेको छ । त्यस्तै, पोखराबाट जोमसोमका लागि पनि सिम्रिकले उडान गर्दै आएको छ । ३ वर्षअघि अग्नि एयरको जहाज ग्राउन्डेड भएपछि सिम्रिकले तिनै जहाज खरिद गरी आफ्नो लोगो राखेर उडान गरेको थियो ।