काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसका कारण नेपालको उड्डयन क्षेत्र नै संकटमा परेपछि नेपाल वायुसेवा सञ्चालक संघले कर्मचारीहरुको तलबमा भारी कटौती गरेको छ।

संघको बैठकले उड्डयन कर्मचारीहरुको तलब कटौतीको गर्ने निर्णय गरेको हो। संघका अनुसार २० हजार रुपैयाँ पारिश्रामिक लिने कर्मचारीको तलबलाई यथावत राखेर ३० हजार, ३० देखि ५० हजार, ५० हजार रुपैयाँदेखि एक लाख, एक लाखभन्दा बढी तलब पाउने जनशक्तिको क्रमशः १०, २०, ३० र ५० प्रतिशतका दरले तलबमा कटौती गर्ने निर्णय गरेको थियो। यद्यपि कम्पनीको वित्तीय अवस्था हेरेर तलब कटौतीको निर्णय गर्नसक्ने संघले जनाएको छ। 

संघका अध्यक्ष रामेश्वर थापाले फिक्सविङतर्फका पाइलटको मासिक तलब १ लाख रुपैयाँ र इन्जिनियरको तलब ७५ हजार रुपैयाँ कायम गर्न सकिने निर्णय गरिएको बताए। उनका अनुसार हेलिकोप्टर अर्थात रोटर विङमा कार्यरत पाइलटको तलब १ लाख २५ हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म कायम गर्न पाइनेछ। हेलिकोप्टरमा कार्यरत इन्जिनियरको मासिक तलब ७५ हजार रुपैयाँ कायम गर्न कम्पनीले पाउनेछन्। 

कोरोनाअघि विभिन्न वायु सेवा कम्पनीले पाइलटलाई मासिक ५ लाख रुपैयाँभन्दा बढी तलब दिने गरेका थिए भने इन्जिनियरको तलब डेढ लाख रुपैयाँभन्दा माथि थियो।

वर्तमान संकटको अवस्थालाई मध्यनजर गर्दै संघले बेसिक स्ल्याबमा केन्द्रित रही जनशक्तिको पारिश्रामिक निर्धारण गरेको हो। 

भारतको इन्डिगोले आफ्ना पाइलट खोस्न थालेपछि बुद्ध एयरले डेढ वर्षअघि तलब दोब्बर बनाएको थियो। जसअनुसार वरिष्ठ पाइलटले ४० घन्टा जहाज उडाउँदा खुद तलब ४ लाख रुपैयाँ, ६०  घन्टा उडाउनेले ५ लाख रुपैयाँ पाइरहेका थिए भने ८० घन्टा उडाउने पाइलटले साढे ६ लाख पाउने गरेका थिए।

यस्तै फिक्सविङ्सतर्फको यती एयरलाइन्सले समेत यही आधारमा पाइलटलाई तलब दिइरहेको छ। आन्तरिक हवाई उड्डयन क्षेत्रमा तेस्रो अपरेटर श्री एयरलाइन्सले पनि यतिकै पाइलटलाई बढी तलब दिएर आफ्नोतर्फ आकर्षित गरेको थियो। यो आधारमा श्रीका पाइलटले पनि ५ लाखभन्दा बढी नै तलब पाइरहेका थिए। 

कोरोनाका कारण सेवा नै ठप्प भएपछि विभिन्न वायुसेवा कम्पनीले प्रायः कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ। लक डाउन हुनु अगाडि नै स्टोल रुटतर्फका फिक्स विङ र रोटर विङतर्फको व्यवसायमा प्रभाव परेपछि जहाज ग्राउण्डेड गराइएको थियो।