उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ।

पछिल्लो चार दशकदेखि उत्तर कोरियालाई उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रद्ध गर्नका निम्ति मनाउने प्रयास गरिदैं आएको छ।

उक्त पृष्ठभूमिमा उसले क्षेप्यास्त्र तथा पारमाणविक अस्त्र बनाउने क्षमता हासिल गर्न लागेको जस्तो देखिन्छ।

उत्तर कोरियाको वास्तिवक क्षमता के कति हो त्यो बुझ्न असम्भव जस्तै छ।

उसले अमेरिकाका जुनसुकै स्थानलाई निशाना बनाउनसक्ने क्षमता रहेको दावी गर्दै आएको छ।
पछिल्ला दुईवटा अन्तरमहादेशीय बलेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेपछि उत्तर कोरियाको त्यस्तो सामर्थ्य हुनसक्नेमा पश्चिमा मुलुकहरुले पनि विश्वास गर्न थालेका छन्।

जापान सरकारले हालसालै सुरक्षासँग सम्बन्धित श्वेतपत्र जारी गरेको छ।

त्यसमा उसले यो कुरा स्वीकारेको छ कि उत्तर कोरियासँग पहिल्यैदेखि साना पारमाणविक अस्त्र छ जसलाई लामो दूरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्रमा जडान गर्न सकिन्छ।

अमेरिकी अधिकारीहरु पनि यो कुरा स्वीकार्छन् कि उत्तर कोरियाले साना पारमाणविक अस्त्रहरुको विकास गरिसकेको छ जसलाई लामो दूरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्रमा जडान गर्न सकिन्छ।

यसका अलावा उत्तर कोरियासँग पारमाणविक अस्त्र रहे वा नरहेको स्पष्ट हुन सकेको छैन।
यद्यपि उत्तर कोरियाले पारमाणविक परीक्षण गरेको दावी गरिसकेको छ।

उक्त पृष्ठभूमिमा उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्रको प्रयोग कहिले गर्नेछ भन्ने कुराको जवाफ केही वर्षभित्र स्पष्ट हुनेछ।

उत्तर कोरियाली अवस्था र अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति हुनु एउटा संयोग मात्रै हो। र, यो संयोगले उत्तर कोरियाली पारमाणविक संकटलाई झन् खतरनाक बनाइदिएको छ। यसमा ट्रम्पको विदेश नीतिको झझल्को पनि आउँछ।

उत्तर कोरियालाई लिएर ट्रम्पले गरेका ट्वीटहरुमा उनको अनुभवहीनता र धम्की स्पष्ट रुपमा महसुस गर्न सकिन्छ।

ट्रम्पको उक्त रवैयाका कारण झन् चिन्ता बढाएको छ।

उत्तर कोरियाली नेता किम जङ अनलाई पश्चिमा संसारले अप्रत्याशित र अनियन्त्रित व्यक्तिका रुपमा हेर्दछ।

अहिले त ट्रम्पलाई पनि विश्वले त्यसरी नै हेर्न थालेको छ।

एकजना पूर्व अमेरिकी रक्षामन्त्रीले ट्रम्पलाई 'चिनिएको/नचिनिएको' व्यक्तिको संज्ञा दिएका छन्।
कसैले पनि अनुमान लगाउन सक्दैनन् कि ट्रम्पले कुनै विषयमा के प्रतिक्रिया दिनेछन्।
उक्त पृष्ठभूमिमा अवस्था झन् खतरनाक हुन पुग्छ।

साथसाथै यस्तो पनि लाग्छ कि उनले ध्यान केन्द्रित गरिरहेका छन् तर कम्तीमा चीनतर्फ होइन।
 
कतिपय यस्ता क्षेत्र छन् जहाँ अमेरिकाको वास्तविक नीति के हो भनी थाहा हुँदैन।

जटिल प्रकृतिको कूटनीतिमा सन्देशको स्पष्टता महत्त्वपूर्ण हुने गर्दछ।

उक्त पृष्ठभूमिमा प्रश्न उठ्छ, अमेरिकी विदेश नीतिको वास्तविक प्रतिनिधि को हो?

के अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाली संकटलाई लिएर आफ्नो भूमिका सही तरिकाले निर्वाह गरिरहेका छन् त?

राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ताको सम्भावना औंल्याइसकेका छन्।

के ट्रम्पका ट्वीटबाट यस्तो लाग्छ कि उत्तर कोरियामाथि दवाव बढ्दै गएको छ?

यसमा कुनै शंका छैन कि उत्तर कोरियाली संकट गम्भीर हुँदै गएको छ।

उत्तर कोरिया नरोकिनुको अर्थ अमेरिकामाथि पारमाणविक हमलाका लागि ऊ चाँडै सक्षम हुनेछ।
अहिलेको अवस्था भिन्न प्रकृतिको छ। ट्रम्प प्रशासन विभिन्न मोर्चामा नीतिगत संकटबाट गुज्रिरहेको छ।

खासगरी चीन, दक्षिण कोरिया र जापानलाई लिएर ट्रम्प प्रशासनले कुनै स्पष्ट दृष्टिकोण बनाइसकेको छैन। अमेरिकाले कुनै न कुनै तरिकाले उत्तर कोरियाको सामना गर्नुपर्ने हुन्छ।

त्यसमा कैयौँ विकल्प हुनसक्छन्: थप प्रतिबन्ध लगाउनु, कोरियाली प्रायद्वीपमा सैन्य उपस्थित अझ बढाउनु र आवश्यक परे युद्धका निम्ति तयार रहनु।

अर्को शब्दमा भन्नुपर्दा उत्तर कोरियामा सत्ता परिवर्तन विना समस्याको हल निस्किदैंन। कोरियाली प्रायद्वीपमा एउटा ठूलो युद्ध हुनु र चीनको उपस्थिति हुनु एउटा ठूलो घटनाक्रम हो जसलाई निष्कर्षमा पुर्‍याउनु त्यति सहज छैन।

अर्को विकल्प उत्तर कोरियालाई नियन्त्रणमा राख्नु हुनसक्छ। पछिल्लो हप्ता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको थियो।

यद्यपि प्रतिबन्ध लगाएर उत्तर कोरियालाई नियन्त्रणमा राख्नु सजिलो छैन। नियन्त्रणमा राख्ने प्रक्रियामा भिडन्तको सम्भावना छ।

स्पष्ट छ यस्तो अवस्थामा कूटनीतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ। तर समस्या यो छ कि उत्तर कोरियाको प्राविधिक क्षमता बढ्दो छ र ट्रम्प प्रशासनमा अनिश्चितताको स्थिति छ।

यसपटकको राष्ट्रसंघीय प्रतिबन्धलाई रुस र चीनले समर्थन गरेका छन्। चीनले पनि उत्तर कोरियाले क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रम रोक्नुपर्ने बताएको छ।

कूटनीतिक तरिकाले उत्तर कोरियाली संकटलाई सम्बोधन गर्न सकिनेमा आशंका छ किनकि विगतमा त्यो सफल भएको दृष्टान्त छैन।

-बीबीसीबाट