-अच्युत रेग्मी 
काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । 

सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण सिर्जना भएको हो । उद्योग विभागले दिएको जानकारीअनुसार आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा उद्योग क्षेत्रमा दोब्बर लगानी गर्ने प्रतिवद्धता गरिएको छ। 

आव २०७३/७४ मा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा रु एक खर्ब ६३ अर्ब १७ करोड ४० लाख लगानी गर्ने प्रतिवद्धता भित्रिएकोमा आव २०७४/७५ मा ४९६ उद्योगका लागि रु तीन खर्ब ५० अर्ब ५८ करोड ८० लाख लगानीको प्रतिवद्धता भएको छ । उद्योग विभागका महानिर्देशक शिवराम न्यौपाने संविधान निर्माणसँगै मुलुकमा लगानीको वातावरण निर्माण हुँदै गएकाले नेपालमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुहुन्छ । “लगानीको वातावरण सिर्जना हुँदै गएकाले पछिल्लो समय विदेशबाट नेपालमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ,” उहाँ भन्नुहुन्छ । 

लगानी भएका क्षेत्रमध्ये ऊर्जामूलक क्षेत्रमा बढी लगानी रहेको छ । विभागका अनुसार ३७ जलविद्युत् उत्पादन केन्द्रका लागि झण्डै रु दुई खर्ब ३३ अर्ब ९१ करोड ५० लाख लगानी भित्रिएको छ । एक सय ३० उत्पादनमूलक उद्योगमा रु ७७ अर्ब २६ करोड ४० लाख लगानी भित्रिएको छ भने १५९ पर्यटन उद्योगमा रु २३ अर्ब ८५ करोड ५० लाखको लगानी प्रतिवद्धता गरिएको छ । एक सय १४ सेवामूलक उद्योगमा रु पाँच अर्ब १२ करोड ९० लाख, चार निर्माण उद्योगमा रु चार अर्ब ७३ करोड १० लाख, २२ कृषि उद्योगमा रु दुई अर्ब ५१ करोड ७७ लाख, चार खनिज उद्योगमा रु दुई अर्ब ४२ करोड २२ लाख र २४ सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा रु ७५ करोड ३० लाख लगानीको प्रतिवद्धता गरिएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईँ विद्युत् उत्पादनका लागि नेपाल उपयुक्त देश भएका कारण ऊर्जा क्षेत्रमा लगानी बढ्दै गएको बताउनुहुन्छ । “उद्योग खोल्नका लागि विद्युत् आवश्यक पर्छ, त्यसैले विद्युत् क्षेत्रमा विदेशी लगानी गर्न चाहन्छन्,” उहाँले भन्नभयो । प्रतिवद्धता जनाउनुभन्दा पनि लगानी गरेर मुलुकको विकासमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईँ स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउनुहुन्छ । “होटल र रेष्टुरेन्ट क्षेत्रमा भारत र चीनका व्यवसायीको लगानी बढी छ,” उहाँ भन्नुहुन्छ । विभागले रु दश करोडभन्दा कम लगानीका उद्योगलाई साना उद्योग, रु १० देखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा बढी लगानीका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । 

विभागमा दर्ता भएका उद्योगमध्ये ७८ ठूला, ७६ मझौला तथा ३४२ विदेशी लगानीका साना उद्योग छन् । ठूला उद्योगका लागि रु तीन खर्ब २८ अर्ब ५२ करोड १७ लाख, मझौला उद्योगका लागि रु १४ अर्ब ९२ करोड २८ लाख र विदेशी लगानीका साना उद्योगका लागि रु सात अर्ब १४ करोड ४२ लाखको प्रतिवद्धता आएको छ । चालू आर्थिक वर्षमा उद्योग क्षेत्रमा आएको प्रतिवद्धता पूरा भए २७ हजार ३३९ नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउनेछन् । आव २०७३/७४ मा ५१० उद्योग खोल्नका लागि लगानी भित्रिएको थियो । सन्तानब्बे ठूला, ८२ मझौला र ३३१ साना उद्योग खोल्नका लागि विभागमा दर्ता भएका थिए । स्वदेशी लगानीका साना तथा घरेलु उद्योग दर्ता साना तथा घरेलु उद्योग विभागमा र साना तथा घरेलु उद्योग विकास समितिमा दर्ता हुँदै आएको छ । 

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको समयमा उद्योग क्षेत्रमा वातावरण सिर्जना भएका कारण उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको विभागले जनाएको छ । संविधान निर्माणसँगै मुलुकमा तीनै तहको निर्वाचन भएर स्थायी सरकार बनेकाले लगानी सुरक्षित महसुस गरेर उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत् उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ ।