हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ।

ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ। 

नेपाल आयल  निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ ।  ग्यास बिक्रेताले ठेलामा राखेर  घरघरैमा ग्यास पुर्याएको उपभोक्ताले बताएका छन् । 

हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी  र  त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ । कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले  समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताउनुभयो। 

निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भन्नुभयो।  रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उहाँको भनाइ  छ । 

यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ।