काठमाण्डौ । देशका अधिकांश आर्थिक मुद्धाहरुमा उदासीन बन्दै आएको र पछिल्लो समय कमजोर नेतृत्वका कारण गतिविधिमा समेत सुस्त देखिएको उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)लाई टक्कर दिंदै नेपाल चेम्बर अफ कमर्स(एनसीसी) अगाडि आउने देखिएको छ । 

एनसीसीको काठमाण्डौमा सम्पन्न ६७ औं वार्षिक साधारणसभाले उसको संगठनात्मक संरचना एफएनसिसीआईकै जस्तो बनाएपछि र एफएनसिसीआईमा राम्रो शक्ति केन्द्र मानिएका कतिपय उद्योगी व्यवसायी समेत त्यतै लागेपछि आगामी दिनमा उद्योगी व्यवसायीबीच २ संगठनको नाममा तीव्र ध्रुवीकरण भई राम्रै टक्कर हुने देखिएको हो ।

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ नै निर्वाचित भएका छन् । नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । साथै, कमलेशकुमार अग्रवाल उपाध्यक्ष(वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष(उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष(जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष(वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष(संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष(विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका छन् ।

मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार बनाइएको बताइएको छ । जसअनुसार सातवटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका बताइएको छ ।