काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई समेटेर सरकारले सल्लाहकार समूह गठन गर्न लागेको जानकारी दिनुभएको छ । 

नेपाल उद्योग परिसंघको १५ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने स्पष्ट गर्नुभयो । स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुन सक्ने बताउँदै उहाँले ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्दै भन्नुभयो, “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि ।” 

दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकाले निर्यातजन्य वस्तुको उत्पादन गर्न व्यवसायीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो । सो अवसरमा परिसंघले प्रकाशन गरेको ‘आर्थिक समृद्धिको मार्गचित्र एवम् आवश्यक कानुनी सुधार’ पुस्तकको विमोचन गरिनाका साथै विभिन्न व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।