काठमाण्डौ । निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको शेखर गोल्छा समूहले नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सबै भोट कब्जा गरेको आरोप लागेको छ ।  

एशोसिएटतर्फको सबै भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण नगर्ने, आफ्ना पकेटका भोटरहरुको मत मात्र नवीकरण गर्ने र सबै आफ्ना मतहरुलाई नवीकरण गरी किशोर प्रधान समूहलाई एशोसिएटबाट एउटा पनि मत जान नदिने वातावरण बनाउन शेखर गोल्छाको टिमबाट गोल्छा, वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा र सरकारी बैंकको २ अर्ब बढी पचाएर समेत खुलमखुल्ला हिँडिरहेका ठूला बैंक डिफल्टर तथा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल हात धोएर लागिपरेका स्रोतले बताएको छ । 

गोल्छा समूहले एशोसिएटतर्फको मतमध्ये हालसम्म २७० मत मात्र नवीकरण गरेको छ । अन्य मतको प्रोक्सी लिएर पनि नवीकरण नगरी महासंघलाई कब्जा गर्ने रणनीति लिएको स्रोतको दाबी छ । आइतबार नवीकरणको अन्तिम दिन भएकोले यो संख्या ५ सयसम्म पुुग्ने अनुमान गरिएको छ । ८५६ मतमध्ये आफूलाई भोट आउने ५ सयको मात्र नवीकरण गरेर अन्य ३५६ मत नवीकरण नगरी आसन्न निर्वाचनमा महासंघ कब्जा गर्ने दाउ हेरिएको बताइएको छ । यो समूहको यो कार्यका कारण महासंघलाई लाखौं आर्थिक घाटा समेत हुने देखिएको छ । कारण, एशोसिएटतर्फको एक सदस्यले एक वर्षमा सदस्यता नवीकरण गर्दा १० हजार रुपैयाँ तिर्नुुपर्ने प्रावधान छ । प्रोक्सी लिएर ३ सय बढी मतको नवीकरण नगर्दा यसबाट महासंघलाई निकै ठूलो आर्थिक घाटा लगाउने कार्यमा समेत मुरारका र गोल्छा समूह लागिपरेका आरोप लगाइएको छ । 

‘महासंघमा एशोसिएसट प्रजातान्त्रिक ढंगबाट नभई प्रोक्सीको रुपमा लिइएको छ ।’ एक कार्यसमिति सदस्यले भने–‘प्रोक्सी लिएर पनि नवीकरण नगरिदिने रणनीतिले सयौ एशोसिएट सदस्यहरुमाथि अन्याय भएको छ । धेरै मान्छे मुरारका र गोल्छाको चक्रव्यूहमा फसेका छन् ।’ 

केही कार्यकारिणी सदस्यहरुले चुनावको मुुखमा एशोसिएटतर्फ निकै ठूलो खेल भइरहेको भन्दै आफ्नो मतको प्रोक्सी कसैलाई नदिन र आफैंले नवीकरण गर्न समेत सदस्यहरुलाई आह्वान गरेका छन् । 

निरकुंशताको यो हद !

लोकतन्त्रमा निर्वाचनमा स्वस्फूर्त भाग लिन पाउनुु नैसर्गिक अधिकार हो । योग्यता पुुगेको जोकसैलाई निर्वाचनमा उम्मेद्वारी दिन पाउने, चुनाव लड्न पाउने स्वतन्त्रता हुन्छ । तर महासंघका मुरारका, राणा र गोल्छाको टिमले चण्डी ढकालको निर्देशन पालना गर्दै एशोसिएटतर्फको १९ सदस्य पदका लागि उम्मेद्वारी दिएका ४१ जनालाई नै दवाब र प्रभावमा पारेर उम्मेद्वारी फिर्ता लिन लगाएका अर्को गम्भीर आरोप समेत लागेको छ । ‘महासंघ हाम्रो हो, हाम्रो टिममा काम गर्ने हो’, ‘कस–कसलाई एशोसिएटमा छान्नुुपर्ने हो, त्यो आफूहरुलाई थाहा छ’ भन्दै यो टिमले ४१ जनालाई नै डरधम्की, लोभलालच र प्रभावमा राखेर उम्मेद्वारी फिर्ता लिन लगाएको स्रोतको दाबी छ । सबैलाई उम्मेद्वारी फिर्ता लिन लगाएर ४१ जनामध्ये छानी–छानी आफ्ना र आफूले भनेको मान्ने १९ जनालाई एशोसिएटतर्फको सदस्य पदमा ल्याउने यो समूहको तयारी छ । एशोसिएटतर्फको प्यानलमा किशोर प्रधान समूहले उम्मेद्वारी घोषणा गरेको थिएन । एशोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकाल सर्वसम्मत भइसकेका छन् । उनले समेत गोल्छा समूहको यो गलत कार्यलाई साथ दिएका किशोर प्रधान समूहको आरोप छ । एशोसिएट उपाध्यक्षमा प्रधान समूहले समेत ढकाललाई नै समर्थन गरेको थियो । 

पैसाको खोलो, जिल्लानगर किन्ने दाउ
एशोसिएटहरुको महासंघमा मतभार ३० प्रतिशत रहने गर्छ । एशोसिएट कब्जा गरे पनि जिल्लानगरतर्फको मत आफूलाई नआउने बुुझेको गोल्छा समूहले यहाँको मतलाई भने खरीद गर्ने रणनीति बनाएको बुझिएको छ । उद्योग वाणिज्य महासंघको प्रत्येक निर्वाचनमा सबैभन्दा बढी पैसाको चलखेल हुने र बिक्री हुने मत पनि जिल्ला र नगरकै हो । प्रत्येक निर्वाचनमा जित्ने उम्मेद्वारले २० देखि २५ जिल्लालाई खरीद नगरी नहुने प्रचलन नै रहेको स्रोत दाबी गर्छ । एक जिल्ला तथा नगर अध्यक्ष वा टिमलाई खरीद गर्न उम्मेद्वारले १० लाख भन्दा माथि खर्च गर्नुपर्छ । यो हिसाबले अन्तिम अवस्थामा ३ देखि ५ करोड रुपैयाँ जसले खर्च गर्ने ल्याकत राख्छ, उसैले जिल्ला नगरको समेत मत पाउने संभावना हुन्छ । अघिल्ला निर्वाचनमा झै यो पटक पनि जिल्लानगरका मतहरु बिक्री हुन तयार भए भने महासंघको आगामी नेतृत्व पैसा, छलछाम, डरधम्की लगायतका अस्त्र प्रयोग गरेर गोल्छा समूहले जित्ने स्रोतहरु दाबी गर्छन् । 

तर, जिल्ला नगरमा भने किशोर प्रधान समूहको दबदबा छ । महासंघमा जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । ५० प्रतिशत मतभार रहेको क्षेत्रबाट परिणाम आफ्नो पक्षमा पार्न गोल्छालाई निकै गाह्रो पर्ने देखिन्छ । कारण, महासंघको आसन्न निर्वाचनको नमूना मत सर्वेक्षणको क्रममा जिल्ला नगरबाट आउने मतमध्ये  किशोर प्रधान समूहको पोल्टामा ७० प्रतिशत मत जाने देखाएको छ । मुरारका, राणा र गोल्छा समूहको पछिल्लो गतिविधिका कारण कुरा बुुझ्ने मतदाताहरुको मत समेत प्रधानलाई आउने संभावना बढ्दो छ । 

आचारसंहिता मिच्दै मुरारका र राणा
उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको आचारसंहिता मिच्दै वरिष्ठ उपाध्यक्ष भवानी राणा र वर्तमान अध्यक्ष पशुुपति मुरारका खुलेरै गोल्छा समूहको चुनावी अभियानमा हिँडिरहेका छन् । गोल्छा समूहको टिमको उम्मेद्वारी घोषणा कार्यक्रममा सर्वसम्मत अध्यक्ष बन्नुुपर्ने र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने भवानी राणाले खुलमखुल्ला ‘गोल्छा समूह आफ्नो टिम’ भएको र यो टिमसँग काम गर्न आफूलाई सहज हुने भन्दै निर्वाचनको वातावरण धूमिल बनाउने काम गरेकी थिइन् । उनीसँगै पशुपति मुरारका समेत गोल्छा समूहलाई जिताउने अभियानमा खुलेरै लागेका छन् । बहालवाला अध्यक्ष, वरिष्ठ उपाध्यक्षले कुनै पनि एउटा पक्षलाई साथ दिएर मत माग्दै हिँड्नुु आचारसंहिता विपरीत हो । तर, यो मनपरीलाई न निर्वाचन आयोगले हेरेको छ, न अरु कसैले । महासंघलाई आफ्नो पेवाजस्तो ठानेर मनपरी भइरहँदा समेत त्यो नरोकिएकोमा धेरै सदस्य रुष्ट छन् । 

केही दिनअघि प्रधान समूहले पत्रकार सम्मेलन नै गरी नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका सन्र्दभमा महासंघका केही वर्तमान पदाधिकारीहरुले संस्थाको विधान तथा आचारसंहिता विपरीत कार्य गरी महासंघको गरिमा र मर्यादा उल्लंघन गरिरहेको कुरा सार्वजनिक गरेको थियो । ‘वर्तमान अध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष (जो स्वतः अध्यक्ष हुनुहुनेछ )हरुले महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उहाँको समूहको पक्षमा प्रचार प्रसार भएको, आफ्नो पदको मर्यादा विपरीत एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा नै “मेरो टिम” भनी मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको, केन्द्र तथा प्रदेशको निर्वाचन सम्बन्धमा विधानको कार्यविपरीत गोल्छा समूूहको हक हित हुने गरी विभिन्न संस्थागत निर्णयहरु एक पक्षीय ढंगबाट गरिएका जस्ता आचारसंहिता र संस्थाको विधान विपरीत भएका कुराहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस्ता प्रयासहरुप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।’ प्रधान समूहले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको थियो–‘महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्देश्य राखी गरिएको विधान संशोधनका प्रावधानहरुलाई महासंघको नेतृत्वमा आफ्नो कब्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पुर्याउने वदनियतपूर्ण प्रयासले महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएको हुनाले यस्ता दुस्प्रयासहरुलाई रोक्न तथा दुरुत्साहित गर्न महासंघका सम्पूर्ण सदस्यहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था देखिएको कुराप्रति हामी सरोकारवालाहरुको ध्यान आर्कषित गर्न चाहन्छौं ।’ 

प्रधान समूहले डर, धाकधम्की, लोभलालचका जोडवलमा महासंघका सदस्यहरुको मत आफूूतिर तान्न प्रयत्न भइरहेको भन्दै केही प्रश्नहरु उठाएको थियो । ती प्रश्न यस्ता थिए :
-महासंघको निर्वाचनमा वर्तमान अध्यक्ष र विधानत स्वत हुने आगामी अध्यक्षले निर्वाचनमा एक पक्षमा लाग्नुु अमर्यादित, अशोभनीय र महासंघको आचारसंहिताविरुद्ध हो कि होइन ? 
-वर्तमान तथा आगामी नेतृत्व सबैको साझा हुनुपर्ने हो कि एक गुटको मात्र हुने हो ? 
-आगामी अध्यक्षले “मेरो गुट” भनेको समूूहको पराजयको अवस्थामा उहाँको नेतृत्वको भविष्य कस्तो हुन जानेछ ? 
-महासंघको नेतृत्व उद्योगी/व्यवसायीले निर्वाचन प्रक्रियामा चयन गर्ने कि वर्तमान नेतृत्वले मनोनयन गर्ने ? 
- महासंघको नेतृत्वले उद्योगी व्यवसायीको भावना, विधान, आचारसंहिताको पालना गर्ने कि नगर्ने ? 
-अनुशासनको विपरीत काम गरेमा कारवाही गर्ने, निश्कासन गर्ने, अनुशासन समितिको नेतृत्वले नै अनुशासन दिन र निर्वाचनमा गुटबन्दी गर्दा कुन निकायले कारबाही गर्ने ? 
  

के भन्छ गोल्छा समूह ?
वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार शेखर गोल्छाले आफ्नो समूहविरुद्ध कपोकल्पित आरोप लगाइएको दाबी गरेका छन् । ''यो आरोप जसले लगाएको छ, उसले महासंघको विधान नै पढेको छैन भन्ने लाग्यो मलाई ।'' उनले भने-''विधानमा बाहिरका मानिसले प्रोक्सी लिने प्रावधान छैन र एशोसिएटको सदस्यहरुलाई कब्जा गर्ने मेरो हैसियतले भ्याउँदा पनि भ्याउन्न । यो वाहियात कुरा हो ।''