काठमाण्डौ । आर्थिक संकटका कारण भारतमा उपचार गराउन नसकेर नेपाल फर्किएकी बैतडी पुर्चौडी नगरपालिका–४ भटनाकी २२ वर्षीया सुनिता लुहारको सोमबार साँझ क्वारेन्टाइनमै मृत्यु भएको छ। 

सुनिता आफ्ना पति हरिश र डेढ वर्षे छोरीसहित गत जेठ १६ गते भारतको पन्जाबबाट फर्किएकी थिइन्। उनीहरु तीनैजनालाई गत आइतबारदेखि नै गाउँकै मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो। ‘उनको मुटुका भल्भमा समस्या थियो’, पति हरिशले भने, ‘पैसा नभएर साथमा बोकेको औषधि सकिएको पनि १२ दिन भइसकेको थियो, औषधि खानै नपाएर ज्यान गयो।’

सुनिताले बितेको १ वर्षदेखि काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग केन्द्रका चिकित्सकको सिफारिसमा औषधि खाँदै आएकी थिइन् । ‘भारतका चिकित्कले औषधिले मात्र हुन्न शल्यक्रिया गर्नुपर्छ भने, भारु ३ लाख बढी लाग्छ भनेपछि पैसा नभएर हामी फर्किंयौँ’, हरिशले भने, ‘तर यताका चिकित्सकले शल्यक्रिया गर्नुपर्दैन, नियमित औषधि खाए ठिक हुन्छ भनेका थिए तर नियमित औषधिसहित खुवाउन सकिएन।’
हरिशले क्वारेन्टाइनमा नियमित रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनधप्रतिनिधिहरु नआएकाले औषधि सकिएको विषयमा भन्न नसकिएको गुनासो पोखे। ‘त्यो दिन उनलाई निकै छट्पटी भएको थियो, कहिले बाहिर कहिले भित्र गरिन्’, उनले भने, ‘केही घन्टामै उनको ज्यान गयो।’

सुनितालाई बितेको १ वर्षमा दुईपटक गंगालालमा देखाइएको थियो। चिकित्सकले अवस्था सामान्य छ शल्यक्रिया गर्न नपर्ने भन्दै औषधि लेखेर पठाएका थिए। ‘भारतमा नसकिने भएपछि फेरि गंगालाल जाने सोच बनाएर हामी फर्किएका थियौँ तर जानै पाइएन’, हरिशले भने। 
हरिश र सुनिताको ७ वर्षअघि विवाह भएको थियो। उनीहरुका २ छोरी र १ छोरा छन्। अहिले हरिश दूधे बालकसहित क्वारेन्टाइनमै छन्। 

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी रोहितकुमार धानुकले पनि औषधि अभावमा सुनिताको मृत्यु भएको हुनसक्ने बताए । ‘उनीहरुले हामीलाई औषधि सकिएको कुरा नै भनेनन्’, उनले भने, सुनिताको मृत्यु भएपछि हरिशले यसबारे जानकारी दिए।’ 

जिल्ला अस्पतालका डा। वसन्तराज जोशीले सुनिताको पहिलेको रिपोर्ट हेर्दा मुटुमै समस्या रहेको देखिएको बताए। ‘तर गंगालालका चिकित्सकले लेखेको औषधि यहाँ पाइँदैन’, उनले भने, ‘यदि पहिले नै उनीहरुले सुनितालाई यस्तो समस्या, उसको औषधि सकिएको छ भनेको भए यहाँबाट पठाउने व्यवस्था गर्न सकिन्थ्यो कि तर ढिला गरी जानकारी गराए।’

सुनिताको शव अहिले क्वारेन्टाइनमै राखिएको छ। सुनितासहित उनका पति हरिश, काखे छोरा र अर्का एक पुरुषको पीसीआर परीक्षण गर्न स्वाब निकालेर धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा पठाइएको छ। पीसीआर रिपोर्ट आएपछि मात्र पोस्टमार्टम गरिने बताइएको छ।