काठमाण्डौ । सेयरको थप विकेन्द्रीकृत कारोबार पहिलो दिन नै उत्साहपूर्ण भएको छ । नेपाल स्टक एक्सचेञ्जले काठमाण्डौ बाहिरका ६ स्थानमा विभिन्न ब्रोकर कम्पनीहरुलाई रिमोट वर्क स्टेशन(आरडब्ल्यूूएस) बिस्तारको अनुमति दिएसँगै भएको पहिलो दिनको कारोबार उत्साहपूर्ण भएको हो । 

आइतबारबाट कारोबार सुरु गरेका नयाँ ६ आरएसडब्ल्यूूको नतिजा उत्साहपूर्ण रहेको नेप्सेले जनाएको छ । 

नेप्सेले २०७३ माघ १७ गतेको निर्णयअनुसार दोश्रो बजार सेवा बिस्तार गर्न सदस्य दलालहरुलाई पूर्वाधार तयार गरी शाखाको रुपमा आरएसडब्ल्यूू संचालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम सदस्य दलालहरुले नयाँ ६ ठाउँबाट कारोबार सुरु गरेका हु्न् । 

नेप्सले उपलब्ध गराएको तथ्यांक अनुसार आइतबार सबैभन्दा बढी कारोबार नेपालगञ्जमा बिस्तार भएको कालिका सेक्युरिटीजमार्फत भएको छ । यो ब्रोकर कम्पनीले ३१ वटा कारोबारबाट कुल ५७ लाख ३० हजार ८ सय ६७ रुपैयाँ बराबरको सेयर किनबेच गराएको छ । 

यस्तै, बिर्तामोडमा रहेको श्रीहरि सेक्युरिटीजले ३० वटा कारोबारबाट २९ लाख ३९ हजार १ सय ४० रुपैयाँ बराबरको सेयर किनबेच गराएको छ । नारायणघाटमा रहेको सानी सेक्युरिटिजले १६ वटा कारोबारबाट १८ लाख ८ हजार २६ रुपैयाँ बराबरको सेयर किनबेच गराएको छ भने बनेपास्थित भिजन सेक्युरिटीजले ६ वटा कारोबारबाट ३ लाख ९९ हजार ७ सय १२, नेपालगञ्जमै रहेको अर्को कम्पनी  इम्पेरियल सेक्युरिटीजले ३ वटा कारोबारबाट ७ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको सेयर किनबेच गराएको छ । सबैभन्दा कम विराटनगरस्थित क्रिस्टल कञ्चनजंघाले एउटा कारोबार ४ लाख ६८ हजार बराबरको गरेको छ । 

यसअघि उपत्यका बाहिर ९ सदस्य दलालहरुले पोखरा, विराटनगर, धरान, नारायणघाट र धनगढीमा आरडब्ल्यूएस मार्फत कारोबार गर्दै आएका थिए । अनुमति प्राप्त थप ६ सहित राजधानी बाहिर रहेर कारोबार गर्ने दलाल सदस्यहरुको संख्या १५ पुुगेको छ । 

नेप्सेका अनुसार आगामी दिनमा देशभर थप १३ सहरबाट सदस्य दलालहरुले ३५ आरडब्ल्यूूएसमार्फत कारोबार सञ्चालन गर्ने छन् । सो कार्यका लागि आवश्यक भौतिक पूर्वाधार, प्राविधिक पक्ष तथा जनशक्तिको व्यवस्थापन भइरहेको जानकारी सदस्य दलालहरुबाट प्राप्त भएको नेप्सेले जनाएको छ । आरएसडब्ल्यूको बिस्तारसँगै पुँजी बजार खासगरी दोस्रो बजार कारोबारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने विश्वास लिइएको नेप्सेको प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।