काठमाण्डौ । काठमाण्डौ उपत्यकाभित्रका सबै स्थानीय तहहरुले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा ३ हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । 

काठमाण्डौ उपत्यकाका तीन जिल्लाभित्रका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । 

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र घनावस्तीहरुमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएर भयावह रुप लिनसक्ने जोखिम देखिएकोले स्थानीय निकायबाट प्रवाह हुने सेवालाई समेत ३ हप्ताका लागि रोक्ने निर्णय भएको बताए । 

मेयरहरुले उपत्यकाका सबै स्थानीय निकायमा तरकारी व्यापार साँझ र बिहान मात्र संचालन गर्न दिने, निर्माण कार्य, फूटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भने भदौ १५ गतेसम्मका लागि निषेध गर्ने निर्णय समेत गरेका छन् । 

उनीहरुले सार्वजनिक यातायात संचालन भए पनि त्यसबाट संक्रमणको जोखिम उच्च भएकोले भदौ १५ गतेसम्म रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेका छन् । 

फोरमले कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन हुँदा मजदूरहरुको दैनिक आवतजावत बढी संक्रमणको जोखिम बढेको भन्दै उद्योग कलकारखानाभित्रै क्वारेन्टिनको व्यवस्थ ागर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र उद्योगकारखाना चलाउन आह्वान गरेको छ । 

यस्तै, काठमाण्डौमा घनाबस्ती रहेकोले उपत्यका प्रवेश गर्ने सीमा नाकाहरुमा अत्यन्त कडाई गर्न समेत मेयरहरुको संगठनले सरकारलाई आग्रह गरेको छ । 

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेष्टुरेन्टमा संक्रमण फैलिने उच्च जोखिम हुने र यस्ता क्षेत्र उच्च सतर्कताका साथ संचालन गर्नुको विकल्प नरहेको निश्कर्ष निकाल्दै बैठकले यस्ता क्षेत्रहरुको नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्नेमाथि कारबाही गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ । 

यसअघि उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।