काठमाण्डौ । उपत्यकाका तीनजना मेयरलाई एकैपटक कोरोना संक्रमण देखिएको छ । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । 

बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान  प्रतिष्ठान, पाटन अस्पतालमा  स्वाब परीक्षणका लागि दिनुभएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

राससका अनुसार प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनका परिवारका  सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ । 

आजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर  जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेका छन् । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक  बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठले जानकारी गराए ।