काठमाण्डौ । चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकार्यमाथि निगरानी सुरु गरेको छ ।

विप्लवका नेता–कार्यकर्ताहरू फौजी तालिमप्राप्त भएकाले उनीहरू प्रमुख चुनौती भएको प्रहरीले जनाएको छ । ‘चुनाव बहिष्कार गर्नेहरू नै उपत्यकामा सुरक्षाका प्रमुख चुनौती हुन्,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘त्यसपछि गुन्डागर्दीमा संलग्न व्यक्तिहरू हाम्रा चुनौती हुन्, त्यहीअनुसार योजना बनाएर सुरक्षा योजना लागू भएको छ ।’

विप्लवको पार्टीमा पूर्वलडाकुहरू भएकाले उनीहरूले मतदातालाई आतंकित बनाउन विस्फोटलगायतका गतिविधि गर्न सक्ने भएकाले प्रहरीले ‘प्रोएक्टिभ पुलिसिङ’ सुरु गरेको छ । उपत्यकाका नाका र होटेलहरूमा प्रहरीले विशेष चेकिङ सुरु गरेको छ । गस्ती पनि बढाएको छ ।
निर्वाचनमा प्रभावित पार्न सक्ने भएकाले उपत्यकामा गुन्डागर्दीमा संलग्न करिब २० जनालाई पक्राउ गरिएको डिआइजी भण्डारीले बताए । निगरानी गरी गुन्डागर्दीमा सक्रियहरूलाई पक्राउ गर्न थालिएको र उनीहरूलाई चुनावभरि थुनामा राखिने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले चुनावपूर्व, चुनावको दिन र चुनावपछि गरी तीन चरणको सुरक्षा योजना बनाई लागू गरेको छ । उपत्यकाका तीन जिल्लामा ६ हजार ९ सय ८० नेपाल प्रहरी सुरक्षामा खटिँदै छन् । सुरक्षा जोखिम कम रहेकाले उपत्यकाबाट करिब २ हजार प्रहरीलाई बाहिरका जिल्लामा खटाइएको छ । उपत्यकामा ९ हजार प्रहरी छन् ।

सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षामा खटिनेछन् । तर, सशस्त्र कति खटिने प्रस्ट भइसकेको छैन । प्रहरी खटिँदै आएको विमानस्थल, कारागारलगायत स्थानमा सुरक्षाको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको छ । सेनाले उपत्यकामा नियमित गस्ती गर्न थालिसकेको छ ।

को–को गुन्डा पक्राउ परे ?
केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन् । उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ । उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ । उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ ।

सहरमा भन्दा गाउँमा संवेदनशील
उपत्यकामा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका मतदान केन्द्रको सुरक्षालाई प्रहरीले प्राथमिकतामा राखेको छ । प्रहरी पुग्न समय लाग्ने ग्रामीण क्षेत्रमा झैझगडा तथा चुनावविरोधी गतिविधि हुन सक्ने प्रहरीको आँकलन छ ।

उपत्यकामा ललितपुरका दक्षिणी भेगका गाउँपालिका सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । ललितपुरका कतिपय मतदानस्थलहरूमा सडकबाटोसमेत पुगेको छैन । भक्तपुरको नगरकोट, सिरुटार र दधिकोटका मतदानस्थलहरूलाई अति संवेदनशील मतदानस्थलमा राखिएको छ । महानगरीय प्रहरी कार्यालयले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा मतदान केन्द्रलाई विभाजन गरी सुरक्षा योजना बनाएको छ ।

गुन्डाहरू पक्राउ पर्दै छुट्दै
पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ । तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन् ।

गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन् ।

गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया“ धरौटीमा छुटेका छन् । कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन् । कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन् ।

सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ । तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन् । गुन्डाहरूको ठूला नेताहरूस“ग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।