काठमाण्डौ । देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाण्डौ उपत्यकाका रहेका छन् । 

यो अवस्था विगत केही दिनदेखि नै देखिएको हो । पछिल्लो २४ घण्टामा समेत यस्तै अवस्था देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

देशभर ९ हजार ५८४ पीसीआर टेस्ट हुँदा कुल १ हजार ३२५ संक्रमित फेला परेका छन् । पीसीआर टेस्टको संख्या घट्दै गर्दा संक्रमित थपिने संख्या चाहिँ बढिरहनुको अर्थ संक्रमणदर बढिरहेको रुपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

संक्रमण दर बढ्दै गर्दा बढी जनघनत्व रहेको उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । आइतबार पनि कुल संक्रमितमध्ये ५८ प्रतिशत उपत्यकामा मात्रै देखिएका छन् । 

यो दिन काठमाण्डौ जिल्लामा मात्रै ६०२ नयाँ संक्रमित फेला परे । भक्तपुरमा हालसम्मकै धेरै १०१ संक्रमित थपिएका छन् भने ललितपुरमा ६४ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । 

रुपन्देहीमा यो दिन पनि ११३ संक्रमित थपिए भने मोरंगमा ६३ भेटिए ।

यो अवधिमा थप मृत्यु भएका १० मध्ये ६ जना उपत्यकाकै रहेका छन् । काठमाण्डौका ३, ललितपुरका १ र भक्तपुरको १ गरी ५ महिला र काठमाण्डौका एक पुरुष गरी ६ जनाको मृत्यु भएको हो । मृत्यु हुने महिलाहरुको उमेर काठमाण्डौ( ४०, ६० र ६३), ललितपुर(७५) र भक्तपुर(७२) रहेको छ । काठमाण्डौमा मृत्यु हुने पुरुषको उमेर ८२ वर्ष रहेको छ । 

यसबाहेक धनुषाका एक ७६ वर्षीय पुरुष, चितवनको ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । पाल्पाकी ४० वर्षीया महिलाले पनि कोरोनाकै कारण ज्यान गुमाएकी छिन् ।