काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकामा ८५९ सहित देशभर हालसम्मकै सबैभन्दा बढी २ हजार २० कोरोना संक्रमित थपिएका छन् । 

देशभर ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० नयाँ संक्रमित थपिएका हुन् । 

सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ६९८ संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ८२ र ललितपुरमा ७९ संक्रमित थपिएका छन् । 

निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेको पछिल्लो तथ्यांकले देखाएको छ । 

शुक्रबारसम्ममा देशभर संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ । यस्तै, हालसम्म भएको पीसीआर परीक्षणको संख्या ८ लाख ९४ हजार ३७३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट थप ८७१ डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या  ४३ हजार ८२० पुगेको छ । यसको अर्थ हाल देशभर १७ हजार ३८३ सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो समय थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३९० पुगेको छ । पछिल्लो समय मृत्यु हुनेमध्ये २ महिला र ५ पुरुष रहेका छन् । उपत्यकाका २ महिला र २ पुरुष तथा मोरंगका २ पुरुष, र नवलपरासीका एक पुरुषको मृत्यु भएको छ । मृतकहरुको उमेर ३१ देखि ८८ वर्षसम्म रहेको छ । 

शुक्रबारसम्ममा निको हुने दर ७१.१ प्रतिशत रहेको छ । यो बिहीबारको भन्दा केही कम हो । 

संक्रमित धेरै थपिएका जिल्लाहरु
काठमाण्डौ उपत्यकामा मात्रै नभई पछिल्लो समय अन्य जिल्लाहरुमा पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । जसअनुसार पछिल्लो २४ घण्टामा धेरै संक्रमित थपिएका जिल्लाहरुमा मोरंग(११८), सुनसरी(५८), बारा(७८), सप्तरी(४५), चितवन(१९१), कास्की(८६), नवलपरासीपूर्व(३९), नवलपरासी(४१), रुपन्देही(८६), सुर्खेत(११७) रहेका छन् ।