काठमाण्डौ । देशका ४ महानगरका मेयरका प्रत्यासीहरुको पछिल्लो मतपरिणाममा धेरैको ध्यान जाँदा उपमेयरका प्रत्यासीहरु भने छायाँमा परेका छन् । महानगरका उपमेयरका प्रत्यासीहरु पनि एकअर्कालाई उछिन्दै अगाडि बढिरहेका छन् । 

जसरी मेयरका प्रत्यासीहरुको परिणाममा कांग्रेस माओवादीबीचको तालमेलको प्रभाव देखिएको छैन र भरतपुर तथा पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेस र माओवादीले तालमेलप्रति धोकाधडी गरेका देखिएको छ काठमाण्डौ र ललितपुरमा समेत एमालेले राप्रपाका उपमेयर पदका उम्मेद्वारहरुलाई घात गरेका मतपरिणामको क्रममा देखिएको छ । 

एमालेका मेयर पदका उम्मेद्वार काठमाण्डौ र ललितपुर महानगरमै अगाडि छन् । तर, एमालेसँग तालमेल गरी उपमेयरमा उम्मेद्वार उठाएको राप्रपा भने जिल्ल परेको छ । एमालेले राप्रपालाई धोका दिंदा कांग्रेस उम्मेद्वारलाई चिठ्ठा परेको देखिएको छ । 

पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरपालिकाको उपमेयरमा ११७६ मत ल्याएर कांग्रेसकी हरिप्रभा खड्का अगाडि छिन् । यहाँ एमाले समर्थनमा उठेका राप्रपाका राजाराम श्रेष्ठले अहिलेसम्म ४३७ मत मात्र प्राप्त गरेका छन् । 

ललितपुरमा पनि राप्रपाको उस्तै हालत भएको छ । त्यहाँ कांग्रेसकी उपमेयर उम्मेद्वार गीता सत्यालले ४०५३ मत ल्याउँदा एमालेसँगको तालमेलबाट उम्मेद्वारी दिएका राप्रपाका बाबुुकाजी थापाले भने २२५३ मत मात्र ल्याएका छन् । 

दुुई महानगरमा मेयरतर्फ एमाले उम्मेद्वारले अग्रता हासिल गर्नु, तर तिनै ठाउँमा एमाले तालमेलमा उठेका राप्रपाका उम्मेद्वार उपमेयरमा निकै पछाडि पर्नुले तालमेलप्रति एमाले कार्यकर्ता तथा समर्थन इमानदार नभएका देखिएको राप्रपाका एक केन्द्रीय नेताले बताए । ‘भरतपुरमा कांग्रेसले माओवादीलाई, पोखरामा माओवादीले कांग्रेसलाई र ललितपुर तथा काठमाण्डौमा हामीलाई एमालेले धोका दियो ।’ उनले भने–‘तालमेल गरेर चुनाव लड्ने प्रयोग सफल नहुने रहेछ, गलत गरिएछ ।’