काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ। 

राष्ट्रबैंकले बिहीकार बैंक तथा बित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै निक्षेप संकलनका लागि उपहार दिन प्रतिबन्ध गरेको हो । 

विगतमा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि सुनचाँदीका सिक्का लगायतका उपहार दिने गरेका थिए । राष्ट्रबैंकको यो सर्कुलरपछि अब यस्तो उपहार दिन पाइन्न । 

यस्तै, केन्द्रीय बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरेको छ ।

सहुलियतको कर्जा पाउने भूकम्पपीडितको परिभाषा समेत संसोधन गरिएको छ। सर्कुलरमा भनिएको छ–‘भूकम्पपीडितका लागि निजी आवास निर्माण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राही सम्झनुपर्नेछ।’ 

यस्तै, केन्द्रीय बैंकले अरुतिरको सम्पत्ति राखेर भूकम्पपीडितले ऋण लिन नपाउने व्यवस्था समेत गरेकोछ।  भूकम्पपीडितले राख्ने धितोलाई पुनभार्षित गर्दै सर्कुलरमा भनिएको छ–‘धितो भन्नाले( पीडितको निजी आवास पुनर्निर्माण वा प्रवलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिइ निर्माण गर्ने वा गरेको घर तथा त्यो घरले चर्चेको जग्गालाई बुझ्नु पर्नेछ।’