काठमाण्डौ । ‘ऋण लागोस् तर दिन नलागोस्’ भन्ने उक्ति नेपाली समाजमा निकै लोकप्रिय र मननीय छ । यो केही हदसम्म सही पनि छ । तर अहिलेको परिस्थितिमा पैसाको ‘बल’ निकै छ । पैसाले मानिसको हैसियत नाप्ने गरिन्छ ।

कतिपयले छिटो प्रगति गर्नका लागि ठूलो धनराशि ऋण लिएर व्यापार व्यवसायमा हात हालेका हुन्छन् । तीमध्ये केही उन्नतिको बाटोतिर लम्किन्छन् त केही ऋणमै चुलुम्म डुबेर निराश बन्न पुग्छन् ।

यस्तोमा ऋणको भारलाई हल्का कसरी गर्न सकिन्छ भन्ने सोचमा कतिपय भौँतारिरहेका हुन्छन् । यहाँ हामी ऋणको भार कम गर्न सक्ने केही उपायहरु सुझाइरहेका छौँ । यसरी ऋणभार कम गर्न सकिन्छ, अपनाउनुहोस् यी पाँच तरिका :–

मासिक बजेटमा लगाम

छिटो ठोस कदम चाल्नुपर्छ । ऋणमा डुबिरहँदा केवल ऋणको बोझमात्र बढाउँछ । साथै नियमित बचतमा पनि असर गर्छ । पहिला आफूले लिएका सबै ऋणको सूची बनाउनुपर्छ । त्यसपछि मासिक कति तिर्न सकिन्छ र क–कसलाई तिर्नुपर्ने हो, त्यसको सूची बनाउनुपर्छ । यसरी सूची तयार पारेपछि ऋण कति–कति र कसरी तिर्ने भन्ने योजना बन्न सक्छ । यी सबै योजना आफूले मासिक रुपमा तयार पार्ने बजेटभन्दा पहिला नै बनाउनुपर्छ । यसले विस्तार ऋणको बोझ कम गर्न र खराबी ऋणीबाट बच्न सहयोग गर्छ । 

ऋणको प्राथमिकता निर्धारण

पहिलो आफूले लिएको ऋणको प्राथमिकता निर्धारण गर्नुपर्छ । बढी ब्याजदेखि न्यून ब्याजका ऋण रकमलाई क्रमबद्ध गर्नुपर्छ । त्यसपछि बढी ब्याज भएको ऋणलाई प्राथमिकता दिनुपर्छ । किनकि ब्याजभारले ऋण चुक्ता निकै असर गर्छ । अर्को उपाय भनेको यदि तपाइँको बढी ब्याज भएको रकमलाई न्यून ब्याजदर लिने बैंक तथा वित्तीय संस्थामा स्थानान्तरण गर्दा पनि ऋणको भारमा केही हदसम्म कमी हुन सक्छ । यसले मासिक रुपमा बुझाउनुपर्ने ऋणको किस्तामा पनि सहज बनाइदिन्छ ।

सकभर ऋणमाथि ऋण नथपौँ

ऋणको भार कम गर्ने अर्को उपाय हो ऋणमाथि ऋण लिने बानी अन्त्य गर्ने । जबसम्म पुरानो ऋण चुक्ता हुँदैन तबसम्म अर्को ऋण लिने कोसिस नगरौँ । 

अनावश्यक खर्चमा नियन्त्रण

अनावश्यक खर्चमा नियन्त्रण गर्न पनि ऋणको भार कम गर्न सकिन्छ । यदि अनावश्यक खर्च कम गर्यौँ भने त्यही पैसा बचाएर ऋणको रकम तिर्दै जान सकिन्छ ।

कम ब्याजदरमा ऋण

यदि कुनै व्यापारव्यवसाय गर्न वा घर जग्गा किन्नलाई ऋण लिनुछ भने पहिले कम ब्याजदरमा ऋण उपलब्ध हुने ठाउँहरु खोज्नुपर्छ । धेरै ब्याजदर ऋण लिँदा ब्याजको भारले नै थिलोथिलो बनाउन सक्छ । अर्कोतिर यदि कम ब्याजदरमा ऋण उठाइयो भने बढी ब्याजदरमा तिर्नुपर्ने अतिरिक्त रकम बचत हुन्छ र त्यही बचत रकमलाई सदुपयोग गर्दै छिटोभन्दा छिटो ऋण चुक्ता गर्न सकिन्छ । – एजेन्सी