-भक्तराज रसाइली

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले तिर्ने क्षमताको विकास नगरी ऋण लिएर गाडी खरीद गर्न नहुने सुझाव दिएका छन् । 

नाडा अटो शो २०१८ मा उद्घाटन मन्तव्य दिंदै अर्थमन्त्री खतिवडाले ऋण लिएर धेरै गाडी नकिन्न अटोमोवाइल व्यवसायीहरुलाई समेत आग्रह गर्दै भने–‘कमाएर गाडी किन्नुपर्छ । ऋण तिर्ने क्षमताको विकास नगरी गाडी किन्नु राम्रो सिद्धान्त होइन ।’ 

उनले बढी ऋणमा चल्न खोज्दाको परिणाम कस्तो हुन्छ भन्ने कुरा सन् २००८ को विश्व आर्थिक मन्दीलाई हेर्न आग्रह गर्दै क्रय क्षमता नबढाई उपभोगमा मात्र ध्यान दिंदा अर्थतन्त्र जोखिममा पर्नसक्ने बताए । ‘ऋणमा आधारित उपभोगले दिगोकालसम्म हामीलाई  टिकाउन सक्दैन ।’ उनले भने–‘क्रयक्षमता नबढाएसम्म उपभोगमै मात्र बढी जोड दिनु हुँदैन ।’

 

उनले अटोमोवाइल व्यवसायीहरुले व्यापार घाटाको पनि चिन्ता गर्ने, आयात प्रतिस्थापनको पनि चिन्ता गर्ने, तर अटोमोवाइलसँग सम्बन्धित गुनासो पनि राखिरहने बिषय मिल्दोजुल्दो नभएको बताए । ‘आत्मनिर्भर र स्वाबलम्बी बन्नुपर्छ पनि भनिरहने अनि बाँकी अटोमोवाइलसँग सम्बन्धित गुनासो पनि राखिरहने ? यसमा तालमेल खोज्नुपर्छ ।’–डा. खतिवडाले भने । 

सरकारले अटोमोवाइलमा अलिक बढी नै कर लगाएका प्रष्ट पार्दै कुल राजश्वको १५ प्रतिशत अटोमोवाइल क्षेत्रबाट आउने बताए । अटोमोवाइल धेरै भएपछि बाटोहरु चाहिने र त्यसका लागि राजश्व नै उठाउनुपर्ने बिषयलाई समेत गम्भीरताका साथ बुझिदिन उनले आग्रह गरे । 

‘सडक बनाउन राजश्व चाहिन्छ, राजश्वका लागि आधार चाहिन्छ । हाम्रो अर्थतन्त्रको राजश्व प्रणाली भन्सारमा आधारित नै हो ।’ उनले थपे–‘आन्तरिक उत्पादनमा आधारित राजश्व प्रणालीको विकास गर्न सके मात्र तपाईका समस्या पनि सम्बोधन हुन सक्लान् ।’ 

उनले अगाडि प्रश्न गर्दै भने–‘बाल्यअवस्थाका उद्योगलाई यति कर किन भनेर तपाईहरु कराउनुहुन्छ । राज्यले कर पनि नउठाउने अनि विकास पनि धेरै गर्नुपर्ने ? यो असंभव कुराका बीचमा केही संभव समाधान निकाल्नुपर्छ ।’

उनले समूह हेरेर सोअनुकुल बोल्ने अर्थमन्त्री आफू नभएको प्रष्ट पार्दै आफू जे सत्य हो, त्यही बोल्ने दाबी गरे । ‘जसलाई जे राम्रो लाग्छ, त्यो बोलिदिने अर्थमन्त्री भए त के रमाइलो होला ? म परिस्थिति अनुसार कुरा फेर्दिँन ।’ उनले भने–‘हिजो जे भने आज पनि त्यही भन्छु, भोलि पनि भन्छु, तत्काल केही नतिजा नआउनसक्छन्, किनभने सुधार भन्ने कुरा त्यति सजिलो छैन । प्रष्ट हुनुहोस् मास हेरेर कुरा फेरिरहन्न । बोलेर सुधार हुने भए बोलिन्थ्यो होला, तर गरेर सुधार हुनुपर्ने कुराहरु छन् । संरचनात्मक समस्या छन्, त्यसलाई हल गर्नुपर्छ ।’ 

बजेट कार्यान्वयन सुरु भएको २ महिना मात्र भएको उल्लेख गर्दै रिजल्टका लागि केही समय पर्खिदिन उनले व्यवसायीहरुलाई आग्रह गरे । ‘कृत्रिम रुपमा देखाइएका उपलब्धि बेलुन झै फुट्न सक्छन्, दरिलो आधारसहितका उपलब्धिहरुको बाटोमा हामी हिँडेका छौ ।’ उनले अगाडि भने ।

यसअघिका सरकारले मलजल गरेका आर्थिक विकृति, अनियमितता र अनुशासनहीतामा तीव्र सुधारमा सरकार लागि परेको र सुधार गरेर परिणाम निकाल्न छोटो समय काफी नहुने उनको जिकिर थियो । ‘६ महिनामै सबै सुधार संभव छैन ।’ उनले भने–‘तपाई सुझाव दिंदै पनि जानुहोस्, हामी गर्दै जान्छौ, सहकार्यको बेला हो । अरुलाई दोष दिएर आफ्नो कमजोरी लुकाइन्न ।’ 

मन्तव्यको क्रममा उनले लगानी सम्बन्धी कानून तर्जुमाको अन्तिम चरणमा रहेको र बैंकिङ क्षेत्रको तरलता समाधानमा धेरै प्रयास भइरहेका दाबी गरे । 
उनले सरकारले अटो क्षेत्रका एसेम्ब्ली उद्योग,वातावरणमैत्री विद्युतीय गाडी तथा ठूला सार्वजनिक यातायातलाई प्राथमिकता दिने समेत खुलाए । 

उनले व्यवसायीले प्रदर्शनीस्थल सानो भएको गुनासोलाई सम्बोधन गर्दै सरकार र निजी क्षेत्र मिलेर राजधानी नजिकै फराकिलो क्षेत्रको खोजी गरी त्यहाँ व्यवस्थित प्रदर्शनीस्थल बनाउन सकिने बताए । 

उनले चौरीपैठारी निरुत्साहित गर्नैका लागि भन्सारदर घटाउने विगतको महाभूल आफूले नगर्ने प्रष्ट पारे । ‘भन्सारको दर घटाएपछि बढी राजश्व आउँछ भन्ने सिद्धान्त विगतमा थियो, त्यो गलत हो ।’ उनले भने–‘यो अर्थशास्त्रको कुनै सिद्धान्तले दिंदैन । प्रशासनिक संयन्त्रको प्रयोग गरी चोरीपैठारी हुने विन्दूबाट रोक्ने हो ।’ 

उनले अटोमोवाइल र स्पेयर्स पार्टस्को उत्पादनमा लाग्न आग्रह गर्दै भने–‘आन्तरिक रुपमा स्पेयर पार्टसको उत्पादन गर्न सकिन्छ भने त्यहाँ राज्यले संरक्षण दिन्छ । गोरखाली टायर उद्योग संचालन गर्न सक्नुहुन्छ भने आउनुहोस्, सरकार तपाईलाई सहयोग गर्न तयार छ ।’ 

उनले सरकारले व्यापारमा आधारित अर्थतन्त्रलाई आन्तरिक उद्योगमा आधारित अर्थतन्त्र बनाउने प्रयास थालेको समेत दाबी गरे।

नाडा अटो शोको उद्घाटन समारोहलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नाडाका अध्यक्ष शम्भू दाहाल लगायतले समेत सम्बोधन गरेका थिए ।