काठमाण्डौ । इन्भेष्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले भारतको आगामी आर्थिक वर्षको जीडीपी ग्रोथ घटाइदिएको छ । गोल्डम्यान स्याक्सले बित्त वर्ष २०१८/१९ का लागि भारतको जीडीपी ग्रोथ अनुमान ८ प्रतिशतबाट घटाएर ७.६ प्रतिशतमा सीमित गरिदिएको हो । 

तर, बित्त वर्ष २०१९/२० का लागि यसअघि गरिएको प्रक्षेपित ८.३ प्रतिशतको अनुमानलाई भने निरन्तर राखिएको छ । 

भारतमा पञ्जाब नेशनल बैंकमा भएको निकै ठूलो घोटाला प्रकरण बाहिर आएका कारण समग्र भारतकै जीडीपी ग्रोथलाई घटाउने परेको गोल्डम्यान स्याक्सको वेबसाइटले जनाएको छ । यसले कुनै पनि देशको एउटा बलियो र ठूलो बैंक बिग्रदा त्यसले समग्र देशको अर्थतन्त्रलाई कुन किसिमले नकारात्मक प्रभाव पार्न सक्छ भन्ने देखाएको छ ।

तर, ग्लोबल रेटिङ एजेन्सी फिच तथा वल्र्ड बैंकले भने आगामी वर्षको भारतको जीडीपी ग्रोथ ७.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । उसले आर्थिक वर्ष २०१९/२० मा भारतको वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस्तै, यसअघि वल्र्ड बैंकले २०१८ मा भारतको जीडीपी ग्रोथ ७.३ प्रतिशत हुने र २०१९ मा बढेर ७.५ प्रतिशत हुने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ ।