काठमाण्डौ । लोकसभा चुनावको ठीक एकवर्षअघि ११ हजार ४ सय हजार करोड भारु घोटाला प्रकरणले भारतमा नरेन्द्र मोदीको सत्ता हल्लाइदिएको छ भने निद्रा समेत बिथोलिदिएको छ । चार वर्षको मोदी सरकारको कार्यकालमा यो घटनाले पूरा बैकिङ सिस्टम र त्यसको कमजोरीलाई पुनरावलोकन र समीक्षाको कठघरामा उभ्याइदिएको छ । पञ्जाब नेशनल बैंक(पिएनबी)मा यति ठूलो घोटाला एउटा चिठीको भरमा भएको थियो भन्दा तपाई आश्चर्यमा पर्न सक्नुुहुन्छ । 

आखिर त्यो चिठी के थियो ? त्यो चिठी किन यति शक्तिशाली भयो होला ? यही चिठीका कारण करोडौं रुपैयाँको कारोबार देशविदेशमा भयो । बैंकको मजबुत र विश्वसनीय भनिएको पूरा सिस्टमले यो बिषयमा समेत किन सूूइकोसम्म पाएन ?खासगरी बैंकको भाषामा यो शक्तिशाली चिठीलाई लेटर अफ अण्डरटेकिङ(एलओयूू) भनिन्छ । सामान्य भाषामा यसलाई बुुझ्ने हो भने एलओयूू एक बैंकबाट अर्को बैंकलाई दिइने एकप्रकारको भर्चुअल डिमाण्ड ड्राफ्ट हो । आउनुहोस् एलओयूूको पूरा खेललाई अझ नजिकबाट बुुझौं:

के हो एलओयू ?
एलओयूू एक खालको ग्यारेण्टी हो, जसलाई एक बैंकले अर्को बैंकका लागि जारी गर्छ । जसको आधारमा दोश्रो बैंकले अकाउण्ट होल्डरलाई पैसा भुक्तानी गरिदिन्छ । बित्तीय भाषामा भन्ने हो भने एलओयू, सेक्योर म्यासेजिङ प्लेटफर्म स्वीफ्टको माध्यमबाट एक म्यासेजको रुपमा पठाइन्छ ।  स्वीफ्टको माध्यमबाट पैसा ट्रान्सफर गर्ने सन्देशको मूल्य बैंकबाट दोश्रो पक्षका लागि जारी एक डिमाण्ड ड्राफ्ट बराबर नै हुन्छ । 

स्वीफ्ट यानी Society for Worldwide Interbank Financial Telecommunications, एक प्रकारको म्यासेज पठाउने तथा पाउने नेटवर्क हो, जसको प्रयोग विश्वभरका बैंक तथा बित्तीय सेवा दिने अन्य संस्थाहरुले समेत गर्छन । समग्रमा यो बुुझौं कि यदि अकाउण्ट होल्डरले डिफल्ट गरिदियो भने एलओयूू उपलब्ध गराउने बैंकको सम्बन्धित बैंकलाई बक्यौता भुक्तानी गर्ने जिम्मेवारी हुन्छ । 

पिएनबी घोटाला कसरी भयो ?
पिएनबीका कर्मचारीहरु आरोपीहरुसँग मिले र फर्जि तरिकाले निरव मोदी तथा मेहुल चौकसीको ग्रुप कम्पनीको पक्षमा स्वीफ्टको माध्यमबाट एलओयूू म्यासेज पठाउने गर्थे । विदेशी ब्राञ्चका लागि स्वीफ्टको माध्यमबाट प्राप्त हुने एलओयू म्यासेज एक पर्याप्त ग्यारेन्टी हुन्छ, जसको आधारमा उसले विदेशमा पठाइएको म्यासेजमा उल्लेख पाटीलाई बिना संकोच भुक्तानी दिन्छ । यो प्रकरणमा यस्ता कैयन भुक्तानी निरव मोदी र चौकसीको कम्पनीलाई विदेशमा गरियो । 

पिएनबीका लागि के छ खतरा ?
यो घटनामा यदि पञ्जाब नेशनल बैंकले मुम्बईस्थित आफ्नो शाखाबाट जारी एलओयूूको ग्यारेन्टी लिंदैन भने लोन दिनेवाला बैंकलले पिएनबीलाई एक डिफल्टर घोषित गर्नुपर्ने हुन्छ । 

यसपछि लोनलाई बैंकको नन परफर्मिङ एसेट(एनपिए) घोषित गरिनेछ र बैंकको मुनाफाबाट यसलाई प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । 

यसपछि विदेशमा लोन दिने बैंकले पिएनबीबाट लोन असूूल्नका लागि कानूनी बाटो रोज्नेछ । यसपछि विदेशमा भएका कुनै पनि बैंकले पिएनबीको एलओयूू लिन अस्वीकार गरिदिनसक्छन् । 

त्यसो त यो घोटालामा ज्यादातर पैसा विदेशमा उपलब्ध गराइएको छ । यसकारण लेण्डरले जुन देशमा एलओयूूमार्फत फण्ड जारी गरेको छ, त्यहाँ पिएनबीको लोकल(स्थानीय) शाखामा क्लेम गर्न सक्छ । विदेशमा पिएनबीको लोकल शाखाले क्लेम सेटल नगरेकै कारण स्थानीय नियामकले यो मामलामा पिएनबीको स्थानीय शाखामाथि दवाब बनाउन सक्नेछ । 

चुनावअघि उड्यो मोदीको निद्रा
मोदी सरकारका लागि दुुर्भाग्य यो भयो कि यति ठूलो घोटाला प्रकरण देशको सरकारी बैंकको माध्यमबाट गरियो । यस्तै, यति ठूलो घोटालाका मुख्य आरोपी यो प्रकरण बाहिर आउनुुअघि नै देशबाट चम्पट भए । यो प्रकरणले सरकारको जवाफेदहीता र प्रणालीमाथि नै प्रश्न उब्जाइदिएको छ । कांग्रेसले यो बिषयलाई पूरा रुपमा आक्रामक बनाउँदै लगेको छ । यो घोटालालाई कांग्रेसले मोदी सरकारको देन भन्दै आएको छ । कांग्रेसका लागि २०१९ मा हुने लोकसभामा भाजपालाई हराउनका लागि यो प्रकरण सञ्जिवनी बुटीजस्तै हुनसक्ने विश्लेषकहरुले बताइरहेका छन् । 

यस्तै, विजेपीले भने यो कांग्रेसको पालामा बनाइएको सिस्टमको प्रतिफल भनेर उल्टो आरोप लगाइरहेको छ । 

जेहोस् यो प्रकरणले पूरा भारत तातेको छ । त्यति मात्र होइन, पिएनबीको निकै ठूलो सेयर लगानी रहेको एभरेष्ट बैंक नेपालमा छ । यो कारण यो बैंकको भविष्य, सेयर मूल्यमा हुनसक्ने गिरावट लगायतको बिषयलाई लिएर यसले नेपाली बजार पनि तातेको छ । त्यति मात्र होइन, भारतको सरकारी बैंकको सुरक्षित ठानिएको प्रणालीबाट यति ठूलो घोटाला भएपछि यसबाट नेपालका बैंक समेत सचेत भएका छन् । कारण केही समयअघि स्वीफ्ट नै ह्याक गरी ह्याकरहरुले एनआइसी एशियाको केही करोड चप्काउन खोजेका थिए, बैंकले समयमै थालेको सक्रियताले धेरै घाटा हुन पाएन ।