काठमाण्डौ । हङकङमा एक दुर्लभ किसिमको गुुलाबी हिरा ७.१ करोड डलर( करिब ७४० करोड नेपाली रुपैयाँ)मा लिलामी भएको छ । यो नयाँ विश्व रेकर्ड हो । 

बीबीसीका अनुसार अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको हो । लिलामीको प्रक्रिया सुरु भएको ५ मिनेटभित्रै यो हिरामा उच्च बोल लागेको थियो । हालसम्म सबैभन्दा महंगामा बिक्री भएको यो नै पहिलो हिरा भएको बताइएको छ । 

हुन त सन् २०१३ मा जेनेभामा यो हिरालाई एक व्यक्तिले ८.३ करोड डलरमा लिलामी सकार्ने भन्दै बोल लगाएका थिए, तर उनले बोल मात्र लगाए, खरीद भने गरेनन् । 

विश्वकै महंगो हिरा बिक्री गर्ने व्यक्ति ‘७७ डायमण्ड’ नामको कम्पनीका अलेक्जेण्डर बे्रकनरले बीबीसीसँग भनेका छन्–‘यो मानव इतिहासकै सबैभन्दा ठूलो हिरा हो । यसको रंगले यसलाई अझ धेरै अविश्वसनीय र रहस्यमयी बनाइदिएको छ ।’ 

यो हिराको बिक्रीअघि विश्वकै महंगो हिराको रेकर्ड ओपनहाइमर ब्लुुको नाममा थियो । जसको लिलामी गत वर्ष ५ करोड डलरमा भएको थियो ।