यूएई । अरब मुलुकको विकसित देश युएई, जहाँका बासिन्दा आफ्नो कारमा हालिने नम्बरप्लेटका लागि मात्र  लाखौ दिराम खर्च गर्ने गर्छन् । शनिबार मात्रै यहाँ खोलिएको एक बोलकबोलमा २ डिजिटको नम्बरप्लेट ध् द्दद्द का लागि एक स्थानीयले २६२ लाख दिराम अर्थात नेपाली ७ करोड ३३ लाख रुपैयाको अधिकतम बोलकबोलमा खरिद गरेका छन् ।

दुबईको हायात रिजेन्सी होटलमा भएको बोलकबोलमार्फत शनिबारमात्रै पनि यहाँको रोड एण्ड ट्रान्सपोर्ट अथोरिटि आरटिएले ८० वटा युनिक नम्बर प्लेटको बिक्री गर्यो । 

दुई डिजिटदेखि लिएर पाँच डिजिटसम्मका युनिक तथा आकर्षक नम्बर प्लेटहरु खरिद गर्न चाहानेहरुले आफूले चाहेको नम्बरप्लेटमा बोलकबोलमार्फत दाबी गरे भने उच्चतम मूल्य हाल्नसक्नेले शानदार नम्बरप्लेट लिए । शानदार जिवनशैली बाँचिरहेकाहरुलाई लक्षित गरेर यहाँको सरकारले कारको नम्बरप्लेट बेचेरै पनि बार्षिक करोडौँ रुपैयाँ राजश्व उठाउने गरेको छ ।

प्रवेश शुल्क १ सय २० दिराम तिरेर थुप्रै अर्बपतिहरु नम्बरप्लेटहरुको बोलकबोल कार्यक्रममा सहभागी भए । २५ हजार दिराम धरौटी राखेर बोलकबोलमा भाग लिएका नम्बरप्लेट नपाउनेले धरौटी फिर्ता पाउनेछन् ।

अरब मुलुकमै अचम्मको सौखिन र धनी देशको रुपमा चिनिने संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त हो दुबई । विकासको हिसाबले निकै अग्रणी रहेको यो देशमा मनोरञ्जन गर्नेहरुलाई उत्तिकै सहज र उत्कृष्ट शहरको रुपमा मानिन्छ । 

विश्वकै धनाढ्यहरुका लागि मनोरञ्जनको गन्तव्यको रुपमा चिनिने युएइमा धनाढ्यहरुलाई आफ्ना सौखिनका विषयमा लाख , करोडसम्म खर्च गर्नु त्यति ठूलो कुरा होइन । सडकमा महँगा कारमा यात्रा गर्नेहरु आफ्नो कारलाई अरुसामु आर्कषक देखाउन पनि महँगो नम्बरप्लेट खरिद गर्न उत्तिकै लालायित हुने गरेका छन् ।  

सिँगल डिजिटको नम्बर प्लेट यहाँको शाही परिवारका लागि मात्र दिने गरिएको छ भने अन्य आकर्षक नम्बरप्लेटहरु यसरी नै बोलकबोलमार्फत सर्वसाधारणसम्म लगिने गरिन्छ ।