काठमाण्डौ । हातमा पैसा भएर पनि लगानीको उपयुक्त विकल्प पाइरहनुभएको छ भने केही समय पर्खिनुस् । तपाईँका लागि समेत उपयुक्त हुने गरी विभिन्न कम्पनीहरुले १ अर्ब भन्दा बढी मूल्यको साधारण शेयर(आइपीओ) निश्कासन गर्दैछन् । 
 

विभिन्न ९ वटा कम्पनीले साधारण सेयर(आइपीओ) निश्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ती कम्पनीहरुले दिएको निवेदन स्वीकृत भए बजारमा चाँडै नै करिब एक अर्ब मूल्यका साधारण सेयर आउनेछ । साथमा पैसा भएर लगानीको उपयुक्त क्षेत्र नभेटिइरहेकाहरुका लागि आइपीओमा लगानी एक उत्तम अवसर बन्नसक्दछ । 
 

पछिल्लो समय नेपालमा सर्वसाधारणले समेत शेयरमा लगानी गरिरहेका छन् । शेयरतर्फको लगानीमा आकर्षण बढिरहेको र यिनै कारणले शेयर बजारमा समेत दैनिकजसो उछाल आइरहेको बेला आइपीओ निश्कासनका लागि निवेदन दिएकाहरुले स्वीकृत पाए यसले बजारका लगानीकर्तामा थप उत्साह थप्ने अपेक्षा गरिएको छ । 
 

कम्पनीहरुले साधारण शेयर निश्कासनका लागि निवेदन दिएपछि त्यसउपर नियामक नेपाल धितोपत्र बोर्डले अध्ययन गर्नुपर्ने हुन्छ । आवश्यक अध्ययनपछि निवेदक कम्पनीहरुको बित्तीय अवस्था साधारण शेयर जारी गर्न योग्य देखिए उसले स्वीकृति दिन्छ र त्यसपछि साधारण शेयर निश्कासन हुनेछ । 
 

धितोपत्र बोर्डका अनुसार सेयर निश्कासनका लागि निवेदन दिएका कम्पनीमा ६ वटा हाइड्रोपावर र बाँकी ३ मध्ये एक विकास बैंक, अर्को एक लघुबित्त र अर्को चाहि माइक्रो फाइनान्स कम्पनी रहेका छन् । 
 

ग्रीन डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, दिव्यश्वरी हाइड्रोपावर लिमीटेड, अरुण काबेली पावर, याङ्दी ग्रुप पावर लिमीटेडले आइपीओ निश्कासनका लागि निवेदन दिएका छन् । यसैगरी, नेशनल माइक्रो फाइनान्स, खानी खोला हाइड!ोपावर कम्पनी, हिमालयन पावर पार्टनर लिमीटेड, सूर्र्यदय लघुवित्तले पनि आइपीओ निश्कासनको निवेदन दिएका छन् । लामो समयदेखि निवेदन दिए पनि आइपीओ जारी गर्ने स्वीकृति नपाएका राजधानी इन्भेष्टमेन्ट, सिटी होम्स, इन्भेष्टा फाइनान्स लगायतले समेत यसपटक स्वीकृत पाए लगानीको अझ धेरै अवसर प्राप्त हुनेछ । 
 

बोर्डका अनुसार सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले ७ करोड मूल्य बराबरको शेयर निश्कासनका लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडले एनआइबिएल क्यापिटललाई बिक्री प्रबन्धक बनाई १० करोड मूल्यको आइपीओ निश्कासनका लागि निवेदन दिएको छ । दिव्यश्वरी हाइड्रोपावरले २६ करोड ४० लाख, याङ्ग्दी ग्रुप्स पावर लिमीटेडले ९ करोड ७३ लाख, अरुण काबेली पावर लिमीटेडले १५ करोड मूल्य बराबरको आइपीओ निश्कासनको अनुमतिका लागि निवेदन दिएका छन् । बिक्री प्रबन्धकमा दिव्यश्वरीको एस क्यापिटल, याङ्दीको एनआइबिएल क्यापिटल, अरुणको सिद्धार्थ क्यापिटल रहेका छन् । यसैगरी, नेशनल माइक्रो फाइनान्सले ३ करोड, सूर्यदय लघुवित्तले १ करोड २० लाख, खानीखोला हाइड्रोपावर कम्पनीले ९ करोड ३१ लाख र हिमालयन पावर पार्टनर लिमीटेडले १० करोड ६५ लाखको आइपीओ निश्कासनका लागि निवेदन पेश गरेका छन् । नेशनलको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ भने सूर्यदयको ग्लोबल आइएमई क्यापिटल, खानीखोलाको सिभिल क्यापिटल, हिमालयनको ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्ध रहेका छन् ।