काठमाण्डौ । मंगलबार बजार खुलेको केही मिनेटमै माछापुच्छ्रे बैंकको ८ करोड बढीको सेयर कारोबार भएको छ । 

एक घण्टा नबित्दै माछापुच्छ्रे बैंकले उच्च कारोबार गरेपछि कसले सेयर बिक्री गर्यो भन्ने विषयमा लगानीकर्ताको चासो देखिएको छ । 

माछापुच्छ्रे बैंकको ३ लाख २४ हजार १० कित्ता सेयर २५५ देखि २६० रुपैयाँ प्रतिकित्तासम्मको दरले बिक्री भएको देखिएको छ । 

कुल ८ करोड २६ लाख ३४ हजार १०० रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको छ । 

सबै कित्ता सेयर ३४ नम्बर ब्रोकरमार्फत बिक्री भएको छ । 

स्रोतका अनुसार माछापुच्छ्रे बैंकमा लगानी गरेका उपेन्द्र महतोले एकैपटक यति ठूलो परिमाणको सेयर बिक्री गरेका हुन् । 

यसअघि महतो समूहले सानिमा बैंकमा रहेको सेयर समेत बिक्री गरेको थियो । 

यो समूहले पछिल्लो समय बैंकमा रहेको सेयर बिक्री गरी मेडिसिटी अस्पतालमा निकै ठूलो लगानी गरिरहेको छ । अस्पतालमा लगानी विस्तारको सोही अभियान अन्तर्गत महतो समूहले माछापुच्छ्रे बैंकको सेयर समेत बिक्री गरेको बताइएको छ ।