काठमाण्डौ । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि मात्र स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने धितोपत्र बोर्डले निर्णय गरेको छ । 

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख १ गतेदेखि सेयर खरीद गर्दा लगानीकर्ताले स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था साना लगानीकर्ताको हकमा भने ऐच्छिक मात्र हुने निर्णय गरिएको प्रष्ट्याएको हो । 

‘बि.सं. २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु.५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बैशाख १ गतेबाट दोश्रो बजारमार्फत शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएकोमा बोर्डले लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निश्कर्ष र नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी यस्तो निर्णय गरिएको बोर्डको प्रष्टोक्ति छ ।  

लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने बोर्डको अपेक्षा छ । 

लगानीकर्ताका विभिन्न संघसंगठनहरुले सबै लगानीकर्ताको हकमा स्थायी लेखा नम्बरको व्यवस्था हाललाई ऐच्छिक गरिनुपर्ने माग गर्दै आएका थिए । अर्थ मन्त्रालय समेतको सुझावका आधारमा बोर्डले बीचको बाटो रोजेको देखिएको छ ।