काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले एकपटकमा १० प्रतिशत संस्थापक सेयरलाई मात्र साधारण सेयरमा परिणत गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्रबैंकले बिहीबार एक निर्देशन जारी गर्दै बैंक तथा बित्तीय संस्थामा तोकिएको सीमा भन्दा बढी रहेको संस्थापक सेयरको स्वामित्व एकपटकमा १० प्रतिशतले मात्र घटाउन पाइने व्यवस्था गरेको हो । 

केन्द्रीय बैंकले यसअघि बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि न्यूनतम ५१ प्रतिशत संस्थापक सेयर हुने गरी बाँकी सेयरलाई साधारणमा परिणत गर्नुपर्ने व्यवस्था गरेको थियो ।

संस्थापक समूहको स्वामित्वमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने कार्य पूँजीबजार, बैंकिंग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ध्यानमा राखेर एकपटकमा बढीमा १० प्रतिशत संस्थापक सेयर मात्र साधारणमा रुपान्तरण गर्न पाइने व्यवस्था गरिएको केन्द्रीय बैंकको प्रष्टोक्ति छ । 

राष्टबैंकले १० प्रतिशतको दरले २ पटकसम्म मात्रै संस्थापक सेयर समूहको सेयरलाई साधारणमा परिणत गर्न पाउने व्यवस्था समेत गरिदिएको छ ।

पहिलाको व्यवस्था अनुसार एकैपटक संस्थापक सेयरको ठूलो हिस्सा साधारणमा परिणत हुँदा यसले घट्दो बजारमा नकारात्मक प्रभाव पार्ने थियो। 

संस्थापकमा परिणत गर्न चाहेका बैंक तथा वित्तीय संस्थामा हाल सेयर स्वामित्व संरचना संस्थापकको ७० र सर्वसाधारणको ३० रहेको थियो । यसरी ५१ प्रतिशतमा संस्थापक सेयरको हिस्सा झार्दा एकैपटक १९ प्रतिशत सेयरलाई साधारण सेयरमा परिणत गर्नुपर्ने बाध्यता थियो ।