काठमाण्डौ । विविध कारणले गर्दा ग्राहकले एकभन्दा बढी बैंकमा खाता खोल्ने गर्दछन्।

कसैले एउटा जागिर छाडेपछि नयाँ जागिरका लागि अन्य बैंकमा नयाँ खाता खोल्ने गर्दछन्। नयाँ बैंकमा खाता खोल्ने क्रममा ग्राहकले पुरानो खाता बन्द गर्न बिर्सन पनि सक्छन् वा त्यो खाताबारे समय–समयमा जानकारी लिन भुल्ने गर्दछन्। यस्तोमा ती पुराना खातामा बदमासी पनि हुनसक्ने सम्भावना रहन्छ।

यस्ता खातामा बदमासी भएका कयौँ घटना बेला–बेलामा सार्वजनिक भइरहन्छन्। यदि तपाइँको पनि एकभन्दा बढी बैंक खाता छ र ती खाता निष्क्रिय छन् भने तपाइँको खातामा पनि बदमासी हुनसक्छ। त्यसैले तपाइँका पनि त्यस्ता निष्क्रिय खाता छन् भने त्यस्ता खाता बन्द गरिहाल्नुस्। नत्र भविष्यमा यसले तपाइँलाई ठूलो नोक्सानी पुर्याउन सक्छ।

१.कुनै पनि तलब खातामा लामो अवधिसम्म तलब आएन भने बैंकले त्यो खाता बन्द गरी अन्य खातामा परिवर्तन गर्न सक्छ। तलब खाता अन्य खातामा परिवर्तन भएपछि खातालाई लिएर बैंकले आफ्ना नियमहरु बदल्ने गर्दछ। बैंकको खातासम्बन्धी नियमहरु पालना नगर्दा बैंकले तपाइँलाई जरिवाना लगाउन सक्छ।

२.एकभन्दा बढी बैंकमा खाता हुँदा यसले तपाइँलाई घाटा हुन सक्छ। तपाइँका ती प्रत्येक खातालाई मेन्टेन गर्न त्यसमा निश्चित रकम राख्न आवश्यक पर्दछ। यसको मतलब एकभन्दा बढी खाता खोल्दा तपाइँको ठूलो धनराशि खाता मेन्टेन गर्नै लाग्दछ।

३.एकभन्दा बढी निष्क्रिय खाता हुँदा यसले तपाइँको क्रेडिट स्कोरमा पनि नराम्रो प्रभाव पार्दछ। तपाइँको खातामा न्यूनतम ब्यालेन्स नहुँदा तपाइँको क्रेडिट स्कोर  खराब हुने गर्दछ। त्यसैले कुनै पनि निष्क्रिय खातालाई हल्का रुपमा लिन हुँदैन र एक ठाउँमा जागिर छोडेपछि त्यो खातालाई बन्द गर्नुपर्दछ।

४.धेरै बैंकमा खाता हुुँदा कर जम्मा गर्ने बेलामा धेरै झन्झटको सामना गर्नुपर्दछ। कागजी कामहरु गर्दा पनि समस्याले सताउने गर्दछ। यसका साथै इनकम ट्याक्स तिर्ने समयमा सबै बैंकसँग सम्बन्धित जानकारीहरु पनि प्रदान गर्नुपर्दछ। ती बैंकहरुको स्टेटमेन्टको रेकर्ड जुटाउन ज्यादै गाह्रो पर्ने गर्दछ। 

५.धेरै खाता खोल्दा ती खाता मेन्टेन गर्न वार्षिक रुपमा अतिरिक्त शुल्क र सर्भिस चार्ज तिर्नुपर्दछ। क्रेडिट तथा डेबिट कार्डको अलावा अन्य बैंकिङ सुविधाका लागि बैंकले तपाइँबाट शुल्क उठाउने गर्दछ।

६. धेरै बैंकमा खाता हुनु सुरक्षाको दृष्टिकोणले पनि खतरा हुन सक्छ। अहिले नेपालका प्रायः सबैले खाताको सञ्चालन इन्टरनेट बैंकका माध्यमबाट गर्ने भएकाले सबैको पासवर्ड याद राख्न मुश्किल पर्ने गर्दछ।

निष्क्रिय खाताको पासवर्ड लामो समयसम्म नबदलिने भएकाले यस्ता खातामा बदमासी हुने सम्भावना अधिक रहन्छ। त्यसैले यस्ता निष्क्रिय खाताहरु समयमै बन्द गरेर यससँग सम्बन्धित बैंकिङ जानकारीहरु डिलिट गर्नुपर्दछ। –एजेन्सी