काठमाण्डौ । साउदीको तेल कम्पनी अरामको विश्वकै सबैभन्दा ठूलो सूचिकृत कम्पनी बन्न सफल भएको छ । साउदीको सेयर बजारमा सूचिकृत भएलगत्तै यो कम्पनीको मूल्य कैयन गुणा बढेको छ । साउदी अरबको सरकारी पेट्रोलियम कम्पनी साउदी अरामकोको सेयर १० प्रतिशत प्रिमियममा लगभग ३५.२० रियालको मूल्यमा सूचिकृत भएको संचारमाध्यमहरुले जनाएका छन् । 

विश्वकै सबैभन्दा ठूलो कम्पनीसँगै साउदी अरामको विश्वकै सबैभन्दा धेरै कमाउने कम्पनी पनि हो । 

विश्वमा यस्ता कैयन कम्पनी छन् जसले करोडौं अरबौंको कारोबार गर्ने गर्छन् । कतिपय ठूला कम्पनीको कारोबार त विश्वका कतिपय साना देशको जीडीपी भन्दा पनि ठूलो रहेको छ । 
यस्ता कम्पनीहरु एक मिनेटको कारोबारको दौरान करोडौं र एकदिनकै कारोबारबाट अरबौं कमाउँछन् । 

यस्तै विश्वका ५ कम्पनीको विषयमा हामी तपाईलाई जानकारी दिइरहेका छौ, जसको कमाई एक मिनेटमै करोडौं रुपैयाँ बराबरको हुन्छ । 

सबैभन्दा धनी कम्पनी
फच्र्यून ग्लोबल ५०० सूचिका अनुसार सबैभन्दा धेरै कमाई गर्ने मामलामा साउदी अरामको कम्पनी नै सबैभन्दा अगाडि रहेको छ । अरामको एकदिनमा  करिब ३५ अर्ब रुपैयाँ भन्दा बढीको आम्दानी गर्छ । यो कम्पनीको एक मिनेटको कमाई २४ करोडभन्दा बढी रहेको छ । 

साउदी अरामको कुल बजार पूँजीकरण १.८८ ट्रिलियन अमेरिकी डलर रहेको छ । कम्पनीको यो कमाई वार्षिक रुपमा हुने मुनाफाका आधारमा निकालिएको हो । 

एप्पल र माइक्रोसफ्टभन्दा ५० गुणा बढी मूल्याङ्कन
साउदी अरामको मूल्याङ्कन १.८८ ट्रिलियन डलर हो । यो मूल्य भनेको हालसम्म विश्वका सबैभन्दा मूल्यवान र धनी कम्पनी मानिने कम्पनीभन्दा ५० गुणा बढी मूल्याङ्कन हो । हालको समयमा माइक्रोसफ्ट र एप्पल जस्ता कम्पनीको बजार मूल्य १ ट्रिलियनको हाराहारीमा रहेको छ । 

जेफ बेजोसको नेटवर्थ बराबरको साउदी अरामकोको कमाई
साउदी अरामको विश्वभरमै सबैभन्दा अधिक कमाई गर्ने कम्पनी हो । गत वर्ष यो कम्पनीले कुल ११० अर्ब डलर बराबरको आम्दानी गरेको थियो । यसको अर्थ साउदी अरामको एक वर्षको कुल कमाई केही समयअघिसम्म विश्वका सबैभन्दा धनी व्यक्तिको स्थानमा रहेका जेफ बेजोसको कुल नेटवर्थ बराबर हो । जेफको नेटवर्थ १०९.३ अर्ब डलर रहेको छ । 

एप्पल बन्यो दोश्रो बढी कमाउने कम्पनी
विश्वको ठूलो कम्पनीको टेक कम्पनी एप्पल समेत नामी छ । फच्र्यून ग्लोबल ५०० को सूचिमा एप्पल दोश्रो स्थानमा झरेको छ । एप्पलले एक दिनमा करिब २० अर्ब रुपैयाँ भन्दा बढी कमाउने गर्छ । एप्पलको एक मिनेटको कमाई डेढ करोड रुपैयाँको हाराहारीमा हुन आउँछ । एप्पलको कुल बजार पूँजीकरण  १ ट्रिलियन अमेरिकी डलर भन्दा अधिक रहेको छ । 

तेश्रो स्थानमा चिनियाँ कम्पनी
सबैभन्दा धेरै आम्दानी गर्ने विश्वको तेश्रो कम्पनीको रुपमा चिनको इण्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना रहेको छ । यो बैंकले प्रति मिनेट १ करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गर्छ । यो बैंकको एक दिनको कमाई १५ अर्बरुपैयाँ भन्दा बढी रहेको छ । 

यो बैंकको कुल बजार पूँजीकरण ६१.८८ अर्ब डलर रहेको छ । 

चौथो र पाँचौ नम्बरमा कुन कम्पनी ?
फच्र्युन ग्लोबल ५०० को सूचिमा चौथो नम्बरमा दक्षिण कोरियाको कम्पनी सामसङ इलेक्ट्रोनिक्सको नाम रहेको छ । यो कम्पनीको हरेक मिनेटमा ९० लाख रुपैयाँ बराबर र एकदिनमा १३ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्छ । 

यस्तै, यो सूचिको पाँचौ नम्बरमा चिनको अर्को बैंक चाइना कन्स्ट्रक्सन बैंक रहेको छ । यो बैंकको हरेक मिनेटको कमाई ८५ लाख रुपैयाँ तथा एक दिनको कमाई १२ अर्ब रुपैयाँ बराबरको रहेको छ ।