काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आगामी कात्तिक ३० गते बोलाएको दशौं वार्षिक साधारणसभा एकाएक स्थगित गरेको छ । 

संचालक समितिमा प्रतिनिधित्वको विवाद चर्किएर अदालतमा मुद्धा परेपछि उच्च अदालत पाटनको आदेश अनुसार बैंकको पूर्व निर्धारित वार्षिक साधारणसभा स्थगित भएको हो । 

बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरर्समा १० औं वार्षिक साधारणसभा बोलाएको थियो । 

बाफियाले बैंक तथा बित्तीय संस्थाहरुमा संचालकहरुको संख्या घटाइदिएपछि सनराइज बैंकका संचालकबीच समेत को बस्ने र को बाहिरिने भन्ने बिषयमा विवाद चर्किएको थियो । संस्थापक समूहतर्फको संचालकमा प्रतिनिधित्व विवाद बैंकमा नमिलेपछि एक पक्षले उच्च अदालत पाटनमा रिट निवेदन पेश गरेको थियो । सोही निवेदनमाथि उच्च अदालत पाटनले कात्तिक २४ गते अन्तरिम आदेश दिंद्यै १४ गते प्रकाशित निर्वाचन सम्बन्धी कुनै कार्य नगर्नु नगराउनुु र यथास्थितिमा राख्नुु भन्ने आदेश दिएको हो । यही आदेशपछि यो मुद्धाको टुंगो नलागेसम्म बैंकले पूर्वघोषित साधारणसभा रद्ध भएको सूचनामार्फत जानकारी गराएको हो । 

‘अदालतको आदेश अनुसार निर्वाचन कार्य मात्र स्थगित गरी साधारणसभा सम्पन्न गर्दा सोही मितिबाट संचालक समितिमा बैंकको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकहरुको प्रतिनिधित्व समाप्त भई सर्वसाधारण तर्फका ३ जना र स्वतन्त्र १ जना गरी ४ जना मात्र संचालक बाँकी रहन गई विद्यमान संरचना बमोजिम ९ जना संचालकहरुको समिति अल्पमतमा पर्नेछ ।’ बैंकले जारी गरेको सूचनामा भनिएको छ-'पर्याप्त बहुमत नभई संचालक समितिको बैठक बस्न नसकी बैंकको संचालक समितिले गर्नुपर्ने सम्पूर्ण काम कारबाही रोकिन गई असामान्य परिस्थितिको सिर्जना हुन गई बैंक, ग्राहक तथा सेयरधनी समेतको हित प्रतिकूल हुने हुनाले कात्तिक २६ गते बसेको बैंकको २७९ औं संचालक समितिको बैठकले साधारणसभा स्थगित गरेको छ ।’ 

बाफियाले बैंक संचालक समितिको आकार केही घटाइदिएपछि यसले केही वाणिज्य बैंकहरुमा विवाद देखिएको छ । केही दिनअघि हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्वको विवाद समेत बाहिर आएको थियो ।