काठमाण्डौ । वृद्धिको लयमा फर्किएको बजारमा एकाएक दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साताका पछिल्ला कारोबार दिनहरुमा उमङ्गको रङ्ग देखिएको बजारमा एकाएक किन गिरावट आएको होला ? विश्लेषक तथा जानकारहरु अनुसार आइतबार नेपाल स्टक एक्सचेञ्जले दुईवटा ब्रोकर कम्पनीमाथि कारोबार गर्न नसक्ने गरी प्रतिबन्धको कारबाही गरेपछि त्यसको असर बजारमा परेको हो । 

नेप्सले आइतबार एबीसी सेक्युरिटिज प्राइभेट लिमीटेड र मार्केट सेक्युरिटिज प्राइभेट लिमीटेडलाई ०.६ प्रतिशत नियामक शुल्क समयमै भुक्तानी नगरेको भन्दै कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यो निर्णयसँगै ती दुई ब्रोकर कम्पनीमार्फत हुने सेयर कारोबार ठप्प भयो । सयौं लगानीकर्ताले सेयर खरीद गर्न नपाएपछि त्यसकै नकारात्मक प्रभावले बजारमा दोहोरो अंकको गिरावट आएको बताइएको छ । 

यो दिन बजार घट्नुमा थोरै भए पनि प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारीहरु समेत जिम्मेवार देखिएका छन् । केही दिन बढेको बजारमा प्रोफिट बुक गर्ने हतारोका कारण बजारमा बिक्री चाप केही बढेको देखिएको हो । 

बजारमा दोहोरो अंकले गिरावट आए पनि कारोबार रकम भने धेरै घटेको छैन । यो दिन ३२ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकम ३२ करोड माथि हुनुले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको देखाउँछ । किनभने विगतमा २० करोडको हाराहारीमा हुने कारोबार ३२ करोड माथि हुनु आफैंमा पनि सुखद संकेत हो । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप बढेका कारण सेन्सेटिभ इण्डेक्स २.८५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०८ अंकको गिरावट देखिएको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह ११.९२ अंकले घट्यो भने जीवन बिमा समूह ६४.८६ अंक, निर्जीवन बिमा समूह १०३.२६ अंक, माइक्रोफाइनान्स समूह २३.४३ अंकले घटे । यस्तै, विकास बैंक समूह २०.८२ अंकले घट्यो भने होटल समूह २३.०५ अंक, जलविद्युत समूह ११.३ अंक, बित्त समूह ५.४८ अंक, उत्पादनमूलक १८.३३ अंक र अन्य समूह ५.७१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १५ लाख ६४ हजार ६ सय ९२ कित्ता सेयर ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी ग्रामीण विकास लघुवित्तले ३ करोड ४५ लाख बढीको कारोबार गर्यो । प्राइम कमर्सियल बैंकसँग मर्जरमा जान लागेको ओम डेभलपमेन्ट बैंकले २ करोड ४९ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकको १ करोड ४६ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भयो । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड २७ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन नवील बैंकको १ करोड बढीको साधारण सेयरको समेत खरीदबिक्री भयो । एभरेष्ट बैंकले ९६ लाख, ग्लोबल आईएमई बैंकले ८० लाख, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमले ७६ लाख बढीको कारोबार गरे ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख बढीको साधारण सेयरको कारोबार भएको यो दिन कृषि विकास बैंकले समेत ७२ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी खानी खोला हाइडोपावर कम्पनीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ५.७१ प्रतिशतले वृद्धि भयो ।

सबैभन्दा बढी नागबेली लघुवित्तका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घट्यो । आइसीएफसी फाइनान्सका लगनीकर्ताको सम्पत्ति समेत ५.३२ प्रतिशतले घट्यो ।