काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा १०३ प्रतिशतले नाफा बढाई अधिकांश सूचकमा फड्को मारेको सेञ्चुरी कमर्सियल बैंक मंगलबार एकाएक चम्किएको छ । 

कान्छो वाणिज्य बैंकले अधिकांश बित्तीय सूचकमा गरेको कमालको प्रगतिबाट भविष्यमा राम्रो रिटर्न दिनसक्ने देखेर लगानीकर्ताले सेञ्चुरीको सेयर खरिदारी बढाउँदा यो कम्पनी एकाएक बजारमा चम्किएको हो । 

यहीकारण आजको बजारमा सबैभन्दा धेरै कारोबार सेञ्चुरी बैंकले गरेको छ । यो कम्पनीले २ करोड  ७६ लाख भन्दा बढीको कारोबार गर्यो भने लगानीकर्ताले करिब ३ प्रतिशतले सम्पत्ति बढाए ।

यो दिन बजारमा करेक्सनकै प्रवृति देखियो । सर्टटर्म कारोबारीहरुले ९ दिनसम्म लगातार बढेको बजारबाट नाफा बुक गर्न  खोज्दा नेप्से परिसूचक १६ अंकले घटेर १३९४.८६ को विन्दूमा  सीमित  बन्न  पुगेको हो ।

सोमबारको तुलनामा कारोबार रकमतर्फ भने  निकै ठूलो  पहिरो  गएको छ । बजार परिसूचक र कारोबार रकममा एकसाथ यसरी पहिरो जानु राम्रो संकेत मानिदैन । यो प्रवृति बजारमा केही दिनसम्म जारी रहे भविष्यमा बजारले ओरालो यात्रा हिँड्न सुरु गर्ने जानकार बताउँछन् । तर, मंगलबारकै बजारको  घट्दो  प्रवृतिलाई हेरेर बजार  भविष्यमा तल झर्छ भनी अनुमान गरियो भने त्यो चाहि मूर्खता हुनेछ ।

यो दिन 'क' वर्गका कम्पनीमा  बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.४२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा .१.१३  अंकको गिरावट देखियो ।

व्यापार समूहमा २.८७ अंकको वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा  गिरावट आएको छ । 

बैंकिंग समूह  १५.८५ अंकले घटेको छ भने विकास बैंक  २७.७९, माइक्रोफाइनान्स समूह १०.५१ अंक र बिमा समूह  ७६ अंकले घटेका छन् ।

होटल समूह ११.८३  अंक, जलविद्युत समूह १३.१ अंक, बित्त समूह ९.९२,उत्पादनमूलक ९.९१ र अन्य समूह ६.८३  अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ७० कम्पनीका १७ लाख  १९ हजार ८ सय कित्ता सेयर ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी सेञ्चुरी कमिर्सयल बैंकले कारोबार गरेको  बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६३ लाख, नेपाल बैंकले २ करोड ४३ लाख बढीको कारोबार गरे  । राष्टिय बिमा कम्पनीको २ करोड ३७ लाख बढीको साधारण सेयर तथा २ करोड २९ लाख बढीको संस्थापक सेयर समेत कारोबार भएको बजारमा स्वालम्बन लघुवित्त वित्तीय संस्थाले २ करोड २९ लाख, सानिमा  हाइड्रोले २ करोड २३ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ९२ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ८४ लाख र चिलिमे हाइड्रोले १ करोड ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ । यो कम्पनीको सेयरमूल्य ६.५३ प्रतिशतले वृद्धि भयो । एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशतले बढ्यो भने यूनाइटेड मोदी हाइड्रोपावरको मूल्य ३.२४ प्रतिशते बढ्यो । 

यो दिन सांग्रला डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घट्यो ।