काठमाण्डौ । स्पेन कोरोनाभाइरस महामारीबाट नराम्री प्रभावित देशमध्ये एक हो र उसलाई खासगरी बढी प्रभावित उसका क्षेत्रलाई अहिले चिकित्सकीय सामग्रीको एकदमै आवश्यकता छ। तर आपूर्ति गर्ने प्रयासहरू टर्किश सरकारसँगको द्वन्द्वका कारण प्रभावित भएका छन्। स्पेनका तीनवटा स्वास्थ्यसंस्थाले किनेका सयौँ रेस्पिरेटरको ढुवानीमा टर्किश सरकारले अवरोध गरेपछि तनाव देखिएको हो।

स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै स्पेनिश सञ्चारमाध्यमले घटनालाई "चोरी"को सङ्ज्ञा दिएका छन्।

करिब एक सातापछि स्पेनको विदेश मन्त्रालयले ढुवानी हुने सुनिश्चित गराउन सक्यो। कोभिड-१९ ले विश्वभरि कूटनीतिक तिक्ततालाई कसरी बढाइरहेको छ भन्ने कुराको यो एउटा उदाहरण हो।

कहाँ तनाव भइरहेका छन्?

संयुक्त राज्य अमेरिका र चीनबीच भएको विवादले बढी ध्यानाकृष्ट गरेको छ। खासगरी "चीनकेन्द्रित" भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आफ्नो देशले गर्दै आएको आर्थिक सहयोग रोक्ने दिएको चेतावनीको बढी चर्चा भयो। तर तनाव अन्यत्र पनि देखिएको छ। अनि सबै तनावमा चीन हुनुपर्छ भन्ने छैन। कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको वास्तविक सङ्ख्या लुकाएको आरोप चीनलाई लाग्ने गरेको छ।

"सैद्धान्तिक कुरा गर्नुपर्दा हामीले एउटै लडाइँ लडिरहेका देशहरू मिलेर अघि बढेको देख्नुपर्थ्यो," लन्डन स्कूल अफ इकोनमिक्स इन्स्टिट्यूट अफ ग्लोबल अफेअर्सकी सामाजिक तथा राजनीतिक शोधकर्ता सोफिया ग्याट्सन भन्छिन्, "व्यवहारमा चाहिँ यो सङ्कटले देशहरूलाई सहकार्यभन्दा प्रतिस्पर्धातर्फ लगिरहेको देखिन्छ।"

युरोपेली सङ्घमा आबद्ध देशहरूबीचको मतभेद एउटा उदारहरण हो।
कोभिड-१९ का घटना इटलीमा बढेपछि उसले छिमेकी देशहरूलाई चिकित्सकीय सामग्रीको आपूर्तिमा सघाउन आग्रह गर्यो। जर्मनी र फ्रान्स दुवैले त्यस्ता सामग्रीको निर्यातमा प्रतिबन्ध लगाए। "निश्चित रूपमा यो युरोपेलीहरूको ऐक्यबद्धताको राम्रो सङ्केत होइन," ब्रसल्सका लागि इटलीका राजदूत माउरिजिओ मासारीले पोलिटिको वेबसाइटमा लेखे।

जर्मनीसँगको तानातान पनि इटलीलाई मन परेन। कोरोनाभाइरस महामारीबाट बढी प्रभावित देशलाई सघाउन आर्थिक कोष खडा गर्ने प्रस्तावको विपक्षमा बर्लिन पनि देखियो।

चीनको 'मास्क कूटनीति'

द नेदरल्यान्ड्स, अस्ट्रिया र फिनल्यान्डले पनि त्यो प्रस्तावको खुला रूपमा विरोध गरे। तर स्पेन, फ्रान्स, बेल्जियम, ग्रीस, आयरल्यान्ड, पोर्चुगल, स्लोभेनिया र लक्स्मबर्गले समर्थन जनाए। त्यसले युरोपेली सङ्घमा आबद्ध मुलुकहरूबीच झन् मतभेद रहेको देखायो।

चीनको "मास्क कूटनीति"लाई विज्ञहरूले कसरी व्याख्या गरे भन्ने कुराको इटली एउटा उदाहरण पनि हो। देशभित्र महामारीलाई नियन्त्रणमा लिएपछि बेइजिङले रुससहित विभिन्न महादेशका राष्ट्रलाई आवश्यक सहयोग गर्न थाल्यो। रोमले चिकित्सकीय सामग्री, परीक्षण किट र चिनियाँ चिकित्सकहरूको टोलीसहित सहयोग प्राप्त गर्यो। इटालीको सामानिक सञ्जालमा #grazieCina (धन्यवाद चीन) को ट्रेन्ड नै चल्यो।

कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा लन्डनस्थित प्याक्स टेकम नामक कन्सल्टेन्सी फर्मका कार्यकारी निर्देशक गेजु एन्टोनिओ बाएजका अनुसार अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाले छाडेको स्थान चीनले लिएको रूपमा अर्थ्याउँछन्।

सन् २०१६ मा राष्ट्रपति भएपछि "अमेरिका पहिले" नारालाई अगाडि बढाएका ट्रम्पले त्यो अवस्थालाई झन् नराम्रो अवस्थामा पुर्याएको उनको तर्क छ। 

वाशिङ्टनको अडान सबैलाई मिलाएर लैजानेभन्दा पर देखिन्छः चीनसँगको तनावबाहेक ट्रम्पले जर्मन अधिकारीहरूलाई पनि क्रुद्ध बनाए जब उनले जर्मन मेडिकल कम्पनीले विकास गरेको कोभिड-१९ विरुद्धको खोपमा विशेषाधिकार हात पार्ने प्रयत्न गरे।

हालै ट्रम्पले भारतलाई पनि प्रत्युत्तर दिने भन्दै चेतावनी दिए। कोभिड-१९ को उपचारमा प्रयोग भइरहेको औलो रोगविरुद्ध प्रयोग हुने हाइड्रोक्सीक्लोरक्वाईन नामक औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि ट्रम्पको धम्की आएको थियो। बाएज भन्छन्, "यो सङ्कटको समयमा अमेरिका कूटनीतिक शक्तिका रूपमा अघि नबढ्दा चीनले त्यो रिक्तता पूर्ति गर्ने अवसर पाएको हो।"

सामाजिक सञ्जाल चीन-ब्रजिल झगडा

उनले अमेरिकी गुप्तचर प्रतिवेदनलाई उल्लेख गर्दै चीनले मृतक र सङ्क्रमित मानिसको वास्तविक सङ्ख्या लुकाएको बताइन्।

ब्रिटिश अधिकारीहरूले पनि चिनियाँ आधिकारिक तथ्याङ्कमाथि प्रश्न उठाए।

चिनियाँ अडानबारे प्रश्न गर्ने ब्रजिल अर्को देश होः कोरोनाभाइरस महामारी फैलिएपछि बेइजिङ र ब्रजिलबीच थुप्रै पटक मनमुटाव भएको छ। चिनियाँ कूटनीतिज्ञ र जइर बोल्सोनारोका निकटवर्तीहरूबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप हुन थालेपछि दुई देशबीच विवाद भएको स्पष्ट देखियो।

सबैभन्दा पछिल्लो घटनाअनुसार शिक्षामन्त्री अब्राहम वेइन्ट्राउन उनका एशियाली समकक्षीले जातिवादी भनेको ट्वीटमार्फत् बताएपछि चिनियाँ अधिकारीहरू क्रुद्ध भए। "यी अभिव्यक्ति आधारहीन एवम् घृणित छन् र जातीय भेदभावले भरिएका छन्," ब्रजिलस्थित चिनियाँ दूतावासले गरेको ट्वीटमा उल्लेख थियो।

चीन ब्रजिलको ठूलो व्यापार साझेदार हो उसले ८० प्रतिशत भटमास किन्छ। ब्रजिलका स्वास्थ्य अधिकारीहरूले चीनबाट भेन्टिलेटर र अन्य चिकित्सकीय सामग्री ल्याउन प्रयास गरिरहेका छन्।

पुरानो तनाव बढाउँदै

"यो घटनाले कूटनीति अझ बढी किन आवश्यक छ भन्ने देखाउँछ," गेजुले भने। "देशहरूले स्थितिको मूल्याङ्कन गर्नुपर्छ र राम्ररी लागि परेर डरबाट राहत दिलाउनुपर्छ।"

कोरोनाभाइरसले पहिलेदेखि देखिएका तनावको आगोमा घ्यू थपिरहेको छ। कोलम्बिया र भेनेजुएलाको नाम पनि उल्लेख गर्न सकिन्छ।

कोलम्बियाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई मान्यता दिँदैन। भेनेजुएलाका आप्रवासीहरू सीमा कटेर आउन थालेपछि दुई छिमेकीबीच मनमुटाव छ।

गत एप्रिल १ मा मडुरोले कोभिड-१९ को परीक्षणका लागि दुईवटा उपकरण दिने प्रस्ताव आफ्ना कोलम्बियाली समकक्षीलाई गरे। त्यसअघि आएका विवरणहरूका अनुसार कोलम्बियामा रोग निदान गर्न प्रयोग भइरहेको एकमात्र उपकरणले काम गर्न छाडेको थियो। "कोलम्बियाका राष्ट्रपति इभान ड्यूकको सरकारले मडुरोले दान गरेका उपकरण अस्वीकार गरे कोलम्बियाका नागरिकको ज्यान र स्वास्थ्यप्रति ड्यूकको बेवास्ताको अर्को उदाहरण हो यो," उनले ट्वीट गरिन्।

मध्यपूर्वको कुरा गर्नुपर्दा कतारमा अलपत्र परेका इजिप्टका नागरिकहरूको भविष्यलाई लिएर दुई देशबीच मतभेद छ। खाडी मुलुकमध्ये सबैभन्दा बढी सङ्क्रमित देखिएको कतारले आप्रवासीहरूले विमानमार्फत् उनीहरूको देश पुर्याइदिने गरेको प्रस्ताव इजिप्टले अस्वीकार गर्यो।

सन् २०१७ देखि कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने देशहरूमध्ये इजिप्ट पनि एउटा हो।

मास्क र लकडाउनबाहेक कैयौँ कारण

मास्क र लकडाउनले भन्दा अन्य कुराले तनाव निम्तिएका छन्।

रुसी सञ्चारमाध्यमबाट कोभिड-१९ बारे मिथ्या समाचारहरू पश्चिमा देशमा फैलिरहेको भन्ने आरोपसहितको युरोपेली सङ्घको एउटा गोप्य प्रतिवेदन मार्च १८ मा सार्वजनिक भयो।

रुसी सरकारका एक प्रवक्ताले ती आरोपलाई "आधारहीन" भने। मतभेदहरू बढिरहँदा जारी महामारीबीच केही विज्ञले सकारात्मक प्रतिक्रिया पनि देखेएका छन्।

ओभरसिज डेभलप्मन्ट इन्स्टिट्यूट नामक थिङ्क ट्याङ्ककी अनालिसा प्रिजनका अनुसार यो सङ्कटले सहकार्यका लागि ठूलो अवसर निम्त्याइरहेको छ। "यो सङ्कटले के देखाइरहेको छ भने विकसित देश नै सबै विज्ञ हुन्छन् भन्ने छैन," उनले भनिन्, "महामारी फैलिने क्रमलाई न्यून गर्न चीनले इटलीसँग जसरी आफ्नो अनुभव बाँड्यो यो ठिक उपयुक्त समयमा देखिनेगरी भएको थियो।"

तर सोफिया गेट्सन अझै सहकार्यको आवश्यकता देख्छिन्। "यो सहकार्यको शक्ति देखाउने समय हुनुपर्छ", उनले भनिन्, "त्यसो नगरेर कैयौँ रणनीतिले देशहरू बीचको सम्बन्धलाई अझ नराम्रो बनाइरहेका छन।" – बीबीसी नेपाली सेवाबाट