काठमाण्डौ । नेपालमा हालसम्मकै एकदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै मंगलबार एकैदिन देशभर १०१ नयाँ संक्रमित थपिएका छन् । 

यसअघि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा गरी कुल ९० संक्रमित थपिएका बताएको थियो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार भारतबाट हालै स्वदेश फर्किएका सप्तरीका ११ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १० पुरुष र एक महिला रहेका छन् । 

सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एकजनामा संक्रमण देखिएको हो । 

उनीहरू सबैलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको स्थानीय संचारकर्मीहरुले जनाएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ ।