काठमाण्डौ । एकैदिन प्रति तोला १२ सय रुपैयाँ वृद्धि भई सुनको भाउ शुक्रबार २ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ । 

२०७२ फागुन १४ गते नेपाली बजारमा सुन तोलाको ५६ हजार ५ सयको दरले किनबेच भएको थियो । फागुन १८, २१, २५ र २८ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो । शुक्रबार पनि तोलामा १२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ ५६ हजार ५ सय पुगेको हो । 

बिहीबार प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा सुन किनबेच भएको थियो । पछिल्लो समय सुनको भाउ बैशाख १२ गतेदेखि नै वृद्धि हुन थालेको हो । सो दिन प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको सुन १३ गते ५४ हजार ९ सय, १४ गते ५५ हजार १ सय, १५ गते ५५ हजार २ सयमा किनबेच भएको थियो । 

विगत केही महिनादेखि सुनको भाउमा उतारचढाव आइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका सभापति मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भई कच्चा तेलको मूल्य बढेसँगै सुनको भाउ समेत आकाशिएको हो, त्यसैको प्रभाव नेपाली बजारमा परेको हो । 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण सुनको मूल्य बढेको शाक्य बताउँछन् । उनका अनुसार सुन उत्पादनमा तेलको खपत हुने गर्छ, त्यही भएर सुनको मूल्य तेलको मूल्यको उतारचढावसँग अन्तरसम्बन्धित हुन्छ ।

शुक्रबार सुन प्रतिऔस ३० डलरले बढेको छ । बिहीबार प्रति औस एक हजार दुई सय ४८ डलरमा अन्तराष्ट्रिय बजारमा कारोबार भएको सुन शुक्रबार प्रति औंस एकहजार २ सय ७७ डलरमा पुगेको छ । उता, बिहीबार प्रति ब्यारेल ४३ डलर रहेको कच्चा तेलको मूल्य शुक्रबार बढेर ४७ डलर प्रतिब्यारेल पुगेको छ ।

यस्तो छ सुन घटबढको इतिहास
पहेँलो धातु सुनको भाउले २०७० चैतमा उच्च विन्दू कायम भए पनि फागुनमा त्यो विन्दू पार गर्दै नयाँ रेकर्ड कायम भएको थियो । तोलामा ५ सय रुपैयाँले बढेर फागुन १४ गते सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेको थियो । फागुन १२ गते सुनको भाउले २ वर्षअघिको रेकर्ड तोड्दै प्रति तोला ३ सय बढेर ५६ हजारमा किनबेच भयो । 

२०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि फागुन १४ सम्म सुनको भाउ ५५ हजार ८ सय नाघेको थिएन । २ वर्षअघि कायम भएको उच्च विन्दू समेत पार गरी सुनको भाउले नयाँ किर्तिमान बनाएसँगै सुन सञ्चित गर्नेहरु मालामाल भएका छन् । 

भाउ लगातार उकालो लागेपछि ४ महिनाको अवधिमा सुन प्रति तोलामा ९ हजार ५ सय रुपैयाँ महंगो भइसकेको छ । बैशाख महिनामा मात्र सुनको भाउ तोलामा २ हजार ५ सयले वृद्धि भइसकेको छ । २०७२ कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । तीन वर्षअघि सुनको भाउ तोलाको ६३ हजारसम्ममा कारोबार भएको थियो । 

चाँदी पनि बढ्यो
अन्तर्राष्ट्रिय बजारमा अनपेक्षित वृद्धि भइरहेको चाँदीको भाउ नेपाली बजारमा समेत बढेको छ । बैशाख ८ गतेदेखि ह्वात्तै बढेको चाँदीको भाउ शुक्रबार एकैदिन तोलामा १५ रुपैयाँले वृद्धि भई ८ सय रुपैयाँमा किनबेच भयो । बैशाख ७ गतेसम्म प्रति तोला ७५० रुपैयाँ रहेको चाँदी ८ गते ७७५ भएको थियो । यो मूल्य १३ गतेसम्म स्थिर रह्यो । १४ गते ७८० भएको चाँदी १५ र १६ गते ७८५ कायम भयो । चाँदी तीन वर्षअघि प्रति तोलाको १३ सय रुपैयाँसम्म पुगेको थियो ।