काठमाण्डौ । शुक्रबार देशभर एकैपटक हालसम्मकै सर्वाधिक १७० जना नयाँ संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १२१२ पुगेको छ । 

शुक्रबार थपिएकामध्ये १६५ पुरुष र ५ जना महिला रहेका छन् । 

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ । तीमध्ये बारा रचैताका ४ जना, पर्सा पोखरियाका ४ जना तथा पर्साको जिराभुवानीका १ जना रहेका छन् । 

पाटन अस्पतालमा गरिएको परीक्षणको क्रममा त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मी महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी सर्लाहीकी स्थायीबासी हुन् । 

गण्डकीमा भएको परीक्षणमा माग्दी मालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जना संक्रमितको पहिचान भएको छ । ती सबैको बाँकेको डुडुवाका हुन् । 

चितवनको भरतपुर अस्पतालमा ६ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये कपिलवस्तुको कपिलवस्तु नपाका ४ जना, नवलपरासी बर्दघाट सुस्तापूर्वका २ जना रहेका छन् । 

काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको क्रममा ८४ जनामा संक्रमण देखिएको छ । 

तीमध्ये कपिलवस्तु यशोधराको भृकुटीमावि, कृष्णनगरका २३ जना रहेका छन् । ती २३ मा ७ वर्षे बालकदेखि ७० वर्ष उमेरका वृद्धसम्म छन् । 

सर्लाहीको मलगंहवाका ४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक महिला र तीन पुरुष छन् । 

रुपन्देहीको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुको गौतमबुद्ध मावि क्वारेन्टाइनका १६ जना र रुपन्देहीको सैनामैनाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । 

राप्ति अस्पतालमा गरिएको परीक्षणमा दाङको गडहवाका २ जना र कपिलवस्तुको विजयनगरका ९ जनामा संक्रमण पुष्टि भएको छ । 

थप १९ डिस्चार्ज
कोरोना संक्रमितको संख्या बढेसँगै डिस्चार्ज हुने संख्या समेत बढिरहेको छ । पछिल्लो समय शुक्रबार विभिन्न अस्पतालबाट १९ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या २०६ पुगेको छ ।