-भक्तराज रसाइली
काठमाण्डौ । वित्तीय प्रणालीको समस्या समाधान गर्ने वा जोखिम व्यवस्थापन गर्ने रणनीति बनाउने विशेषज्ञ नै एक्चुरी हो । एक्चुरी गणितीय ज्ञान तथा सीपको आधारमा भविष्यमा आउन सक्ने जोखिम तथा घटनाहरुको सम्भाव्यताका आधारमा अनुमान गर्ने ज्योतिष पनि हो । 

एक्चुरीले फाइनान्सियल कन्सल्टेन्सी, जीवन विमा, निर्जीवन विमाका साथै लगानी व्यवस्थापन गर्ने संस्था, बैंक लगायत वित्तिय कम्पनीहरुमा यिनीहरुले काम गर्छन् । 

एक्चुरी विश्वमै अति सम्मानित र राम्रो कमाई हुने पेशा हो । सर्टिफाई एक्चुरीको औसत कमाई एकलाख देखि तीनलाख अमेरीकी डलर रहेको छ। 
विश्वमै अति माग भएको यो कोर्षको अध्ययन/अध्यापन अहिले त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कूल बल्खु
मा भइरहेको छ । 

विमा कम्पनीहरुलाई नभई नहुने  “एक्चुरी रिपोर्ट” समयमा बन्न नसक्दा हरेक महिनाको पौष मसान्तमा गर्नुपर्ने वार्षिक साधारणसभा कहिल्यै पनि निर्धारित समय भित्र सम्पन्न भएको छैन । नेपालमा अझैसम्म पनि सर्टिफाई एक्चुरी नहुँदा नेपाली विमा कम्पनीहरुलाई निकै गाह्रो पनि भएको छ । 

हरेक जीवन विमा कम्पनीहरुमा एक्चुरियल डेस्क हुनुपर्ने नियमन निकाय  विमा समितिको प्रावधान भए पनि विमा समिति स्वयम् बाहिरी जनशक्तिको भरपर्दा अरुलाई निर्देशन दिन पनि सकिराखेको छैन । 

नेपाली विमा कम्पनीहरुले छिमेकी मुलुक भारतबाट दक्ष जनशक्ति ल्याएर वा यँहाको रिपोर्ट उता पठाएर भ्यालुएसन गरिरहेको अवस्था छ । यसरी एकातिर देशको ठूलो धनराशि बाहिरिएको छ भने अर्कोतिर निर्धारित समयभित्र वार्षिक साधारणसभासम्म गर्न नसकेर यहाँका विमा कम्पनीहरुमाथि सुशासनको प्रश्न उठिरहेको छ । 

एक्चुरी रिपोर्टबिना एक वर्ष अगाडि लाइफ इन्सोरेन्स कर्पोरेशन (LICN) को सञ्चालक समितिले ३६ प्रतिशत बोनस दिने गरेको प्रस्तावलाई एक्चुरी रिपोर्टको आधारमा विमा समितिले  ठाडै अस्वीकार गरी २ प्रतिशत बोनस पुनः प्रस्ताव गरी पठाएको समाचार प्रकाशित भएको सर्वविदितै छ । 

प्राइसिङ, भ्यालुएसन र प्रिमियम  निर्धारण गर्दा नभई नहुने एक्चुरी कोर्षको आधार कोर्ष नेपालमा २०७३ साल मसिंरबाट गणित विज्ञान स्कूल बल्खुमा सचांलन हुँदै आएकोमा २ वर्षपछि यहाँ अध्ययन गर्ने दुई विद्यार्थीहरुले IFOA,UK बोर्डबाट सञ्चालित Professional Course को एउटा पेपर CT3 उत्तिर्ण गरेका छन् । कुल १४०६ विद्यार्थीहरुले विश्वभरिवाट जाँच दिएकोमा ५२५ जना विद्यार्थीहरु मात्रै पास भएकोमा गणित विज्ञान स्कूलका दुईजना विद्यार्थीहरुले जाँच दिएकोमा दुवैजना पास भएका छन् । 

यसरी नेपालमै सो कोर्षको पठन/पाठन भइरहेकोमा नेपाली विद्यार्थीहरुले काठमाडौं वाटै प्रोफेसनल कोर्षको जाँच दिँदा एकातिर एकेडेमिक र अर्कोतिर प्रोफेसनलको सर्टिफिकेट UK Board  पाउँदा विश्वमै अवसर पाउने कुरामा दुईमत छैन ।  

स्कूलमा निर्देशकका रुपमा प्रा.डा. प्रकाशमुनि बज्राचार्य र डिन वा अध्यक्ष प्रा.डा. रामप्रसाद खतिवडा  हुन् ।  यसका प्रोगाम कोअर्डिनेटर केशवराज फुलारा हुन् ।

आठ सेमेष्टरको ४ वर्षको कोर्समा कुल पूर्णाङ्क १५ सय ७५ र उत्तीर्णाङ्क ५० प्रतिशत हो । एक सेमेष्टरमा १५ क्रेडिट आवर र एक विषयमा ३ क्रेडिट आवर हुन्छ । 

भारतमा सर्टिफाइड एक्चुरी लगभग ३ सय जना, अमेरिकामा ३ हजार ५० जना गरी लगभग विश्वभरमा ५ हजार हाराहारीमा मात्र यो विषयका जनशक्ति रहेको तथ्याङ्क छ । उच्च माग रहेका यस्ता जनशक्ति हाल नेपालमा कोही पनि छैनन् । नेपालीमूलका २ जना युकेमा र १ जना अमेरिकामा कार्यरत छन् ।

प्रत्येक विषयको पूर्णाङ्क ७५ र उत्तीर्णाङ्क ४५ रहेको छ । पूर्णाङ्कको ४० प्रतिशतमध्ये ३० नम्बर आन्तरिक रुपमा विद्यार्थीहरुलाई प्रदान गरिन्छ । 

आन्तरिक रुपमा नम्बर प्रदान गरिँदा एसेसमेन्टमा १६, हाजिरीमा २, प्रस्तुतीकरणमा ५, गृहकार्यमा ५ र अनुशासनमा २ नम्बर बाँडफाँड गरिएको हुन्छ ।

भर्ना प्रक्रिया
जुनसुकै विषमा दशजोड दुई पढेको हुनुपर्ने, तर १ सय नम्बरको गणित पढेको हुन भने जरुरी छ ।

प्लस टूको रिजल्ट आएपछि कान्तिपुर र गोरखापत्रमा भर्नाका लागि आह्वान गरिन्छ । प्रवेश परीक्षामा उत्तीर्णलाई मेरिट लिष्टका आधारमा ३६ जनाको भर्ना सिट क्षमता रहेको हुन्छ । प्रवेश परीक्षामा गणितबाट ५० नम्बर, अंग्रेजीबाट २५ र आइक्यूबाट २५ नम्बरसहित १ सय नम्बरको पूर्णाङ्क रहेको हुन्छ । 

कुल कोटाको १० प्रतिशत छात्रवृत्ति समेत दिइन्छ । प्रवेश परीक्षामा सर्वोच्च अंक ल्याउने १ जना विद्यार्थीलाई निःशुल्क भर्ना गरिन्छ भने बाँकी ३ जनालाई सामुदायिक वा सरकारी स्कुलमा पढेकालाई विशेष प्राथमिकताका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । 

एक्चुरियल साइन्स पढ्दा ४ वर्षमा ४ लाख खर्च हुन्छ । सुरुको सेमेष्टरमा ६७ हजार लिइन्छ । परीक्षा फर्मको प्रत्येक सेमेष्टरको २ हजार तिर्नुपर्दछ । भारतमा यो विषय अध्ययन गर्दा २० लाख भारु तिर्नुपर्दछ । 

सुरुका २ वर्षमा गणित, तथ्याङ्क शास्त्र र कम्प्युटरमा केन्द्रित गर्दै बाँकी २ वर्षमा स्पेसलाइजेसन गर्ने गरिन्छ । सातौं सेमेष्टरमा ७५ पूर्णाङ्कको प्रोजेक्ट वर्क र अन्तिम आठौं सेमेष्टरमा इन्टर्नका लागि विभिन्न इन्स्योरेन्स कम्पनी, बीमा समिति, बैंकतिर लगिन्छ ।

स्कुलमा पठनपाठनको समय ११ बजेदेखि ४ बजेसम्म हुने व्यवस्था रहेकामा प्रत्येक पिरियड डेढ घण्टाको हुन्छ । स्कुलमा १३ जना शिक्षक रहेका छन् । १ जना प्रोफेसर ,१ जना एसिस्टेन्ट प्रोफेसर र बाँकी लेक्चरर रहेका छन् ।

भारतको मुम्बईमा रहेको बिरला इन्स्योरेन्स कम्पनीसँग एमओयु गरेको स्कुलले त्यहाँ इन्टर्नको समेत व्यवस्था गरेको छ । इन्टर्नमा रहँदा खानबस्न, पकेट खर्च विद्यार्थीलाई कम्पनीले प्रदान गर्दछ । इन्टर्न ६ महिनासम्म अवधिको हुन्छ । सोही कम्पनीले जब प्लेसमेन्टमा भारतमा सहयोग गर्ने सहमति पनि भएको छ ।

भारतमा सर्टिफाइड एक्चुरी लगभग ३ सय जना, अमेरिकामा ३ हजार ५० जना गरी लगभग विश्वभरमा ५ हजार हाराहारीमा मात्र यो विषयका जनशक्ति रहेको तथ्याङ्क छ । उच्च माग रहेका यस्ता जनशक्ति हाल नेपालमा कोही पनि छैनन् । नेपालीमूलका २ जना युकेमा र १ जना अमेरिकामा कार्यरत छन् ।

भारतबाट एक्चुरी रिपोर्ट इन्स्योरेन्स कम्पनीले गराउँदा १० लाख भारुसम्म तिर्नुपर्छ ।

भारतको आइएआइ र युकेको आइएफओए बोर्डले सर्टिफाइड गरेपछि विश्वको जुनसुकै कुनामा यस्ता जनशक्ति सहजै बिक्री हुन्छन् । 

बीमा समितिको नयाँ नियमानुसार एउटा कम्पनीमा १ जनामात्र एक्चुरी हुनुपर्ने व्यवस्था छ । जीवनबीमा कम्पनीहरुमा अनिवार्य एक्चरीको व्यवस्था रहेकामा निर्जीवन बीमा कम्पनीमा भने अनिवार्य हालसम्म गरेको छैन ।

नेपाली बीमा प्रिमियम विश्वको तुलनामा महङ्गो हुनका कारण हचुवाका भरमा हिसाब भएर यस्तो भएको हो । नेपालका एक्चुरी हुने भए २० देखि ३० प्रतिशत सस्तो प्रिमियम पर्ने हुन आउने विज्ञ बताउँछन् ।

बीमामा बाहेक यस किसिमका जनशक्ति बैंक, सञ्चयकोष, नागरिक लगानी कोषमा समेत खपत  हुन्छन् । विश्वमा अहिले बैंकहरुमा समेत अनिवार्य एक्चुरी हुनुपर्ने ट्रेन्ड भएकाले भोलिका दिनमा नेपालका बैंकहरुमा समेत यस्ता जनशक्तिको उच्च माग हुने देखिन्छ । 

एक्चुरीको तलब नेपालमा न्यूनतम १० लाखदेखि सुरु हुने जानकार दाबी गर्छन् । भारतमा रहेको टाटा कम्पनीले समेत एक्चुरी राखेबाट निजी क्षेत्रमा समेत यसको उपादेयता देखिन्छ ।