काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण स्थगित एक्सेल डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक साधारणसभा यही असार १४ गते हुने भएको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। सभा झापाको बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टसमा आयोजना गरिने भएको छ।

यसअघि बैंकले वार्षिक साधारणसभाको मिति गत चैत २० गते तोकेको थियो। जुन कोरोना महामारीबाट उत्पन्न परिस्थितिका कारण स्थगित हुन पुगेको थियो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८ प्रतिशत लाभांश अनुमोदन हुनेछ।  बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफा रकममध्ये चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७.१० प्रतिशतले हुने आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.९० प्रतिशतले हुन आउने ६२ लाख ३४ हजार ६५.७८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

सभामा बोनस सेयर वितरणपछि कायम हुने आउने चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुनेछ।

यसअघि बैंकको १३ औँ वार्षिक साधारणसभाले पनि चुक्तापुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर हकप्रद निष्कासन गर्न बाँकी रहेको थियो।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण कार्य गर्ने अख्तियार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि २० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत ६ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।