काठमाण्डौ । यदि तपाईको मनमा महङ्गीको मारको बिषयमा कुनै कल्पना छ भने त्यो कल्पना भेनेजुएलाको महङ्गीले फेल ख्वाइदिनसक्छ । भेनेजुएलाको हालको महङ्गीलाई महामहङ्गीको संज्ञा दिइएको छ । 

त्यहाँको सरकारले महामहङ्गी नियन्त्रणका लागि जे योजना बनाएको छ, त्यसले नागरिकहरुमा झनै ठूलो द्विविधा उत्पन्न गराइदिएको छ । सर्वत्र प्रश्न उठेको छ कि के यो योजनाले अब काम गर्न सक्ला ?

निकोलस मादुरो नेतृत्वको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम परिवर्तन गरी ‘सोभरेन बोलिभार’ राखेको छ । साथैको यहाँको मुद्राको ९५ प्रतिशतसम्म अवमूल्यन गरिएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानमा यो वर्ष भेनेजुएलाको महङ्गीदरमा १० लाख प्रतिशतसम्मको उछाल आउनसक्छ । यसले भेनेजुएलाको आर्थिक अवस्था अझ चौपट हुनसक्ने अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् । 

के भयो सोमबार ?
मादुरोको यो कदम देशको मुद्रा बदल्ने रहेको छ । यो दिन नोटको नाम पनि परिवर्तन गरियो र ८ वटा नयाँ नोट समेत जारी गरियो । ती २, ५, १०, २०, ५०, १००, २०० र ५०० को रहेको छ । 

भेनेजुएलास्थित केन्द्रीय बैंकका प्रमुख केलिक्स्टो ओर्टेगोले घोषणा गरेका छन् कि पुराना सबै नोट पनि चलनचल्तीमा रहे पनि १ हजारको नोट भने अब चल्ने छैन ।

 

मूल्यमा यसको के असर पर्छ ?
भेनेजुएला महामन्दीको चपेटामा छ । औसतमा हरेक २६ दिनमा भेनेजुएलामा हरेक चिजको मूल्य दोब्बर भइरहेको छ । 

केही अर्थशास्त्री दूध भएको एक प्याला कफीको मूल्यलाई महङ्गीको प्रतिक मान्ने गर्छन् । जुलाई ३१ मा राजधानी कराकसको क्याफे हाउसमा एक प्याला कफीको मूल्य २५ लाख बोलिभार रहेको थियो । 

पाँच हप्ता पहिलाको मूल्यको तुलनामा यो दोब्बर थियो । अब जब परिवर्तित मुद्रा ९५ प्रतिशत अवमूल्यनपछि जब बजारमा आउँछ, तब २५ सोभरेन बोलिभारले एक प्याला कफी प्राप्त हुनेछ । 

यसले के सहजता हुन्छ ?
केही समयका लागि यसले नगदको लेनदेनलाई सहज बनाइदिनेछ । अहिले मानिसहरुले एक कप कफी खरीदका लागि नोटहरुको गड्डी नै दिनुपर्ने बाध्यता छ, यो हट्नेछ । भेनेजुएलाको पुरानो मुद्रामा सबैभन्दा ठूलो १ लाख बोलिभार थियो । यसको अर्थ घरबाट कफीका लागि निस्किँदा पनि १ लाख दरका २५ वटा बोलिभर नोट बोक्नुपर्ने बाध्यता रहेको छ । 

भेनेजुएलामा महङ्गीका कारण ठूलो नोटको माग समेत अचाक्ली बढेको छ । तर, त्यहाँका बैंकहरुले सबै ग्राहकहरुका लागि आफ्नो खाताबाट पैसा निकाल्ने सीमा समेत तोकिदिएको छ । 

यस्तो अवस्थामा यहाँका  नागरिकले साना नोट नै ठूलो परिमाणमा लिएर हिँड्नुपर्छ वा अनलाइन पेमेन्ट गर्ने गर्छन् । बीबीसीका संवादादाताका अनुसार यहाँका होटलका कामदारलाई आगन्तुकले दिने टिप्स पनि अनलाइन नै दिनुपर्ने बाध्यता सुरु भएको छ । 

सरकारले भनेको छ कि नयाँ आर्थिक योजनाबाट महङ्गीको सामना गर्न मात्र सजिलो हुने छैन, आर्थिक युद्धको सामना गर्न समेत सहज हुनेछ । 

भेनेजुएलाले भनेको छ कि साम्राज्यवादी शक्तिले ऊविरुद्ध युद्ध छेडेको छ । एक सेप्टेम्बरबाट त्यहाँको न्यूनतम पारिश्रमिकमा ३४ गुणाको बढोत्तरी हुनेछ । नयाँ बोलिभारलाई त्यहाँको सरकारले तेलका लागि जारी गरेको भर्चुअल करेन्सी पेट्रोको रुपमा लिइरहेको छ । 

राष्ट्रपति मादुरोले ट्वीटमा भनेका छन् कि सरकारले नवउदार पूँजीवादको उद्देश्यलाई बिफल तुल्याइदिनेछ । उनले भनेका छन् कि अब देशको आर्थिक व्यवस्था पूर्ण रुपले सुधारिनेछ ।

तर, अर्थशास्त्रीहरुले भनेका छन् कि महङ्गीको जडमा प्रहार गरिएको छैन । उनीहरुले भनेका छन् कि नयाँ नोटको छपाईले मात्र महङ्गीलाई लामो समयसम्म काबुमा राख्न सकिने छैन, बरु यो कदमले अवस्था झनै भयावह बनाइदिन सक्नेछ ।

केहीले त नयाँ नोटको लाभ एक महिनामै हराएर जाने चेतावनी समेत दिइरहेका छन् । 

-बीबीसी हिन्दीबाट भावानुवाद