काठमाण्डौ । डिजिटल दुनियाँमा हरेक काम तथा गतिविधि प्रविधिले सुसज्जित हुँदैछन् । पछिल्लो समय हाम्रो जस्तो मुलुकमा समेत डिजिटल कारोबार प्रविधिकै सहायताका कारण फस्टाउँदैछ । यहीकारण सरकारले लिएको क्यासलेस कारोबारको नीतिलाई सघाउन बैंक तथा बित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । कारोबार मात्र होइन, केही बैंकहरुले आफ्ना गतिविधिहरुलाई समेत डिजिटाइज्ड गर्न थालेका छन् । यही क्रममा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलले एक क्लिकको भरमा काठमाण्डौस्थित केन्द्रीय कार्यालयबाटै ६ वटा शाखाको उद्घाटन गरेको छ । 

बैंकले शाखा उद्घाटनका लागि प्रविधिको सदुपयोग मात्र गरेन, शाखा उद्घाटनकै लागि हेलिकोप्टर चार्टरसम्म गर्न पछि नपर्ने कतिपय बैंक तथा वित्तीय संस्थाहरुलाई समेत शिक्षा दिंदै अनुकरणीय काम गरेको छ । 

सोमबार एक पत्रकार सम्मेलन गरी सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले माउसमा एक क्लिक गरी देशका विभिन्न ठाउँमा एकैसाथ ६ वटा शाखा उद्घाटन गरेका हुन् । उनले इलामको माङ्सेबुङ, सोलुखुम्बुको लिखू पिके, रामेछापको सुनापति, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरी कुल ६ शाखा उद्घाटन गरेका हुन् । 

एउटा शाखा उद्घाटनका लागि हुने खर्च तेश्रो त्रैमासमै १ अर्ब बढी नाफा कमाउन सफल सिटिजन्स बैंकका लागि नगण्य नै होला, तर जनताको पैसा चलाएर व्यवसाय गर्ने कतिपय बैंक तथा बित्तीय संस्थाहरुले शाखा उद्घाटनकै नाममा फजूल खर्च समेत गर्ने गरेका छन् । सिटिजन्सले त्यस्तो प्रवृतिलाई समेत निरुत्साहित गर्दै नयाँ प्रयोग गरेको हो । 

नियामक निकायका अधिकारीहरुलाई प्लेनमै लाने, लैजाने, बैंककै कर्मचारीको समेत ठूलै समूह काठमाण्डौबाट जाने, शाखा उद्घाटनका लागि स्थानीय स्तरमा आयोजना गरिने कार्यक्रम तथा चियापान लगायतका नाममा धेरैले ठूलो पैसा उडाउने गरेका छन् । थोरै पैसा भए पनि सिटिजन्स बैंकले शाखा उद्घाटनका नाममा हुने फजूल खर्चलाई निरुत्साहित गर्दै मुख्य कार्यालयबाटै एक क्लिकको भरमा काम सम्पन्न गरेर उदाहरण पेश गरेको छ । 

यसअघि समेत यो बैंकले ४ वटा शाखाको एकसाथ उद्घाटन यसैगरी गरेको थियो । यस्तै, केहीअघि सेञ्चुरी बैंकले समेत १० वटा शाखा यसैगरी उद्घाटन गरेको थियो । 

शाखा उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेशराज पोखरेलले बैंकको इतिहासमै पहिलोपटक एकैसाथ ६ वटा शाखा उद्घाटन भएको हो । अन्य बैंकहरु पुग्न नसकेका अत्यन्त दुर्गम क्षेत्रमा समेत आफूहरु पुगेको दाबी गर्दै उनले भने–‘हामीले सेवा बिस्तारको नाममा नाफा मात्र हेरेका छैनौ, समाजप्रतिको दायीत्व समेत बोध गर्दै दुर्गमका गाउँबस्तीमा समेत फैलिरहेका छौ ।’ 

उनले कर्णालीमा पहिलो एटीएम मसिन सिटिजन्स बैंकले लगाएको उल्लेख गर्दै सो क्षेत्रमा आफूहरुको बलियो उपस्थिति रहेको समेत बताए । सोमबार बिस्तार गरिएका शाखा समेत गरी अब बैंकको शाखा सञ्जाल ७४ पुगेको उल्लेख गर्दै यो आर्थिक वर्षभित्र ८१ वटा शाखा पुर्याउने आफूहरुको लक्ष्य रहेको सुनाए । उनले सिटिजन्स बैंकले स्थापना पछिको कुनै पनि वर्ष लगानीकर्तालाई दुःखी नबनाएको स्मरण गर्दै भने–‘हामीले लगानीकर्तालाई अहिलेसम्म १४० प्रतिशत भन्दा बढी रिटर्न दिइसकेछौ ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीइओ राजनसिंह भण्डारीले आफूहरुको रहरले भन्दा पनि नेपाल राष्ट्रबैंकको नीतिअनुसार शाखा बिस्तारमा लागेको जानकारी दिए । जनताको पैसाको सदुपयोग गरी सुरक्षित बैकिङ सेवा नै आफूहरुको मन्त्र र ब्राण्ड रहेको उल्लेख गरे ।