राजविराज । श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ । 

वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो । 

पचास सीट क्षमताको उक्त जहाजले हप्ताको पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सले जनाएको छ । आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सको राजविराज शाखा प्रबन्धक सुरेश मल्लिकले जानकारी दिनुभयो । 

उक्त जहाजले काठमाडौँबाट अपराह्न १ः१५ र राजविराजबाट अपराह्न २ः१० मा उडान भर्ने तालीका सार्वजनिक गरिएको छ । काठमाडौँबाट उडेको जहाज करीब २५ मिनेटको अवधिमा राजविराज विमानस्थल पुग्नेछ । जहाजको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकिएको छ । 

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ सालमा विमानस्थलको शिलान्यास गर्नुभएको थियो । केही समयपछि कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो । एक दशक अगाडिसम्म पनि विमान सन्चालन भइरहेकोमा त्यसपछि पुन बन्द भएको थियो । हाल करीब रु ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको बताइएको छ । 

नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलमा उडान/अवतरणका लागि आवश्यक पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको छ । 

विष्णुपुर गाउँपालिकामा अवस्थित उक्त विमानस्थलमा एक हजार ५०० मिटर लम्बाई र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण सम्पन्न भएपछि गत जेठ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गर्नुभएको थियो । मन्त्री अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु हुने बताएपनि आवश्यक तयारीका कारण हवाई सेवा सञ्चालनमा ढिलाइ भएको विमान कम्पनीले जनाएको छ । 

विमानलाई भव्य स्वागत 

पहिलोपटक जहाज लिएर आउने जहाजका पाइलट, एयर होस्टेजलगायत कर्मचारी, काठमाडौँबाट आउने र जाने सम्पूर्ण यात्रुलाई आज यहाँ भव्य स्वागत गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झाले गम्छा तथा फूलको माला लगाइदिएर उनीहरुको स्वागत गर्नुभएको थियो । 

पहिलो उडानबाट राजविराज विमानस्थल उत्रनुभएका राजविराज नगरपालिका–३ का श्याम रजकले हवाई सेवा सञ्चालन भएपछि सप्तरीवासी उत्साही एवं खुशी देखिएको बताउनुभयो । राजविराज विमानस्थलमा हवाई सेवा शुरु भएपछि सप्तरीलगायत सुनसरी, सिरहा, उदयपुर र सीमावर्ती भारतीय क्षेत्रका नागरिकलाई पनि सुविधा पुग्नेछ ।