अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन्।

उनले ती सबै विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन्।

आइतवार बिहान विशेषगरि अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले २०१९ ब्याचको कक्षाका विद्यार्थीहरूलाई चकित पारिदिए।

उनले ती विद्यार्थीको सबै ऋण - करिब ४ करोड डलर - तिरिदिने वाचा गरे।

केही वर्ष अघिसम्म अन्जान यी धनाढ्यका निम्ति यो घोषणा सार्वजनिक मञ्चमा उदाउने एउटा दुर्लभ घटना भयो।

५६ वर्षीय स्मिथ निजी लगानी कम्पनी भिस्टा इक्वीटी पार्टनर्सका संस्थापक हुन्। उनी अमिकाका एक चर्चित अश्वेत परोपकारी पनि हुन्।

सफ्टवेअर कम्पनीहरूमा केन्द्रीत भिस्टाको कुल अनुमानित मूल्य ४६ अर्ब डलर पुगिसकेको छ।

उनको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलरको छ। यसको अर्थ हुन्छ उनी अमेरिकाकै सबभन्दा धनी अश्वेत हुन्।

धनको मामिलामा उनी ओप्रा विन्फ्रेभन्दा पनि अगाडि छन्।

उनी डेन्भर कोलोर्‍याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका हुन्। उनका बुबाआमा स्कूलका प्रधानाध्यापक थिए।

माध्यमिक स्कूलमा हुँदै खेरि स्मिथले बेल ल्याब्स नामक विज्ञान अनुसन्धान कम्पनीमा काम गर्न निवेदन दिएका थिए। तर कम उमेरको भन्दै उनको निवेदन स्वीकार भएन।

तर उनले निरन्तर रूपमा पाँच महिनासम्म हरेक हप्ता कम्पनीलाई सम्पर्क गरिरहे। अन्तमा उनलाई स्वीकार गरियो।

पछि स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढे। उनले कोलम्बिया विश्वविद्यालयबाट एमबीए पनि गरे।

त्यसपछि उनले स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरे जहाँ उनले एपल र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीसँग काम गर्ने मौका पाए।

सन् २००० मा उनले गोल्डम्यान स्याक्स त्यागे र आफ्नै भिस्टा कम्पनी खोले।

लगानी उद्योगका यी विशिष्ट क्षेत्रमा आफूले कसरी जातीयतासँग जुध्न परेको भनेर उनले सन् २०१४ मा न्यूयोर्क टाइम्स पत्रिकालाई बताएका थिए। कतिपय अवस्थामा जातकै कारण आफूले अन्य सहकर्मीभन्दा दोब्बर काम गर्न मनोवैज्ञानिक दबाब अनुभूति गर्ने गरेको उनले बताएका थिए।

त्यसैले गर्दा उनको कम्पनी भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिने गरेको छ।

निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन्।

आइतवारको छक्क पार्ने उपहारभन्दा पहिले पनि स्मिथले मोरहाउसलाई सहयोग गरेका थिए।

त्यहाँ उनले छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर दिएका थिए।

सन् २०१७ मा बील तथा मेलिन्डा गेट्स अनि वारेन बफेटले स्थापना गरेको गिभिङ प्लेज नामक परोपकारी प्रतिबद्धता अभियानमा आफ्नो अधिकांश धन दिने वाचा गर्ने उनी पहिलो अश्वेत अमेरिकी थिए।

आफ्नो परोपकार बारे लेख्दै उनले भनेका छन्: "मेरा बुबाआमा, हजुरबुबा हजुरआमा, तथा अफ्रिकी अमेरिकीहरूको पुस्तौँ पुस्ता जसको नाम मैले कहिले थाहा पाउने छैन, उनीहरूकै कारण मेरो बाटो कोरिएको म कहिल्यै बिर्सने छैन।"

"उनीहरूको संघर्ष, साहस र प्रगतिकै कारण मैले आँट्न र हासिल गर्न सकेँ।"

"मेरो कथा केवल अमेरिकामा मात्र सम्भव हुन सक्थ्यो। त्यसैले हामीले यो विरासत अघि बढाउन आफ्नो तर्फबाट काम गर्नुपर्छ।"

मोरहाउसलाई गरेको सहयोग उच्च शिक्षाका निम्ति स्मिथको पहिलो चन्दा थिएन।

अश्वेत तथा महिला इञ्जिनियरिङ विद्यार्थीलाई सघाउ पुग्ने कार्यक्रम सुरु गर्न सन् २०१६ मा उनले आफूले पहिले पढेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए।

-बीबीसीबाट