काठमाण्डौ । ‘जन्मँदा मानिस मुठी कसेर आएको हुन्छ । यसको अर्थ अब म यो संसारमा केही गर्छु भन्ने उसको संकेत हो भनिन्छ । मानिस हुर्किन्छ, ठूलो हुन्छ, पैसा कमाउँछ । तर मर्दा मानिसले के लान्छ र ?’ जीवन जिउनुको वास्तविकताभित्र डूबुल्की मार्दै झलक खनाल हामीसँग पोखिए–‘खालि हात जानुपर्छ । चितामा जलाउने बेलामा लगाएको एकसरो लुगा पनि खोलिदिन्छन् । पूरा शरीर राख नहुञ्जेल मलामीले घोचिरहन्छन्, घोची–घोची पोल्छन् । त्यही भएर ज्यूँदो छँदै कमाएकोमध्ये केही समाजसेवामा लगाउनुपर्छ, मरेपछि अरुले सम्झनलायक काम गर्नुपर्छ ।’ 

झलकप्रसाद खनाल, भिबोर विकास बैंकका सीइओ हुन् । उनमा पैसा कमाउने मोह जति छ, त्यो भन्दा बढी खर्च गर्ने उदार दिल पनि । अरुजस्तो बकमफुसे कुरा मात्र गर्दैनन् उनी, काम पनि गरेका छन् । एकपछि अर्को गर्दै आफ्ना प्रियजनहरुको मृत्युको कठोर सामना गरेका उनले तिनीहरुबाटै समाजसेवाको प्रेरणा पाए, अनि सकेसम्म पैसा खन्याएर सामाजिक काम गरिरहेका छन् । 

बैंकको दिनहुँको दौडधूप, नाफा कमाउनैपर्ने बाध्यता, अनेक समस्या र त्यससँग जुध्ने तीव्र इच्छाशक्ति, अनि यही बेलामा आफन्त गुमाउनुको पीडा । यी सारा समस्या भोगेका छन् खनालले । गत चैत १४ गते मात्र उनले आफ्नी प्रिय माइली छोरी प्रतिभालाई ३३ वर्षको कलिलो उमेरमा गुमाउनुपर्यो । क्यान्सरबाट थलिएकी उनको उपचारको क्रममा निधन भएको थियो । त्यसअघि आमाबुबा गुमाएको पीडा त छँदै थियो । जेनतेन छोरी वियोगको पीडा सहँदै थिए, केही साताअघि मात्र उनले अर्को बज्रपात भोग्नुपर्यो । दाई रामप्रसाद खनालको पनि देहान्त भयो । एकपछि अर्को गर्दै आफन्त र प्रियजनको बिछोडले उनी विक्षिप्त भएनन्, बरु उनीहरुलाई लोकले सम्झिरहने केही काम गरिदिनुपर्छ भनेर हिम्मतका साथ अगाडि बढे र सोही अनुसारको काम पनि गरे, गरिरहेका छन्, गर्ने घोषणा गरेका छन् । 

‘मेरी छोरी समाजसेवा भनेपछि हुरुक्कै गर्थिन ।’ छोरीको सामाजिक भावना र उनीसँगका स्वर्णिम पलहरुको सम्झना गर्दै खनालले बिजशालासँगको एक भेटमा भने–‘आत्मबल भएकी मेरी माइली छोरीले नै हो मलाई पछिल्लो समय समाजसेवामा समर्पित हुन प्रेरित गरेको ।’ छोरी प्रतिभाको मनमा जिवित छँदा सामाजिक सेवाप्रतिको उत्कट चाहना र मरिहत्तेपनलाई बचाइराख्ने झलकले प्रण गरे । केही समयअघि मात्र देवघाटमा ‘प्रतिभा स्मृति कोष’ स्थापना गरेका छन् ।

‘मेरी छोरी आफूलाई क्यान्सर लागेको छ भन्ने थाहा पाउँदा समेत टकमा झुण्डिएर भूकम्पपीडित वस्ती पुगी त्यहाँका भोका नाङ्गालाई सहयोग गरेकी थिइन ।’ खनालले भने–‘मैले उनको त्यो भावनालाई मर्न नदिने निधो गरी उनको नाममा स्मृति कोष स्थापना गरिदिएको हँु ।’ 

खनालका अनुसार छोरीको नाममा स्थापित प्रतिष्ठानमा हालसम्म ५ लाख रुपैयाँ जम्मा भएको छ । त्यसअलावा छोरीकै स्मृतिमा देवघाटका क्रियापुत्रीहरुको सहजताका लागि २ तलाको क्रियापुत्री भवन निर्माण कार्य समेत उनले व्यक्तिगत खर्चमा थालेका छन् । ४३२ स्क्वायर फिटको निर्माणाधीन भवनमा हालसम्म झलकले व्यक्तिगत रुपमा ५ लाख खर्च गरिसकेका छन् । अब ५ लाख लाग्ने अनुमान छ । 

छोरीको नाममा अक्षयकोष बनाई देवघाट आसपास बसी त्रिशूलीमा बालुवा चाल्ने र गिटी कुट्नेका छोरीहरुलाई शिक्षाको उज्यालो प्रकाश देखाउने उनको सपना छ । ‘देवघाट आसपासका बोटे, मगर लगायतका परिवारका बच्ची पढ्नबाट बञ्चित छन् ।’ उनले आफ्नो योजना सुनाउँदै भने–‘म ती बच्चीहरुलाई विद्यालय पठाउन चाहन्छु । त्यही भएर प्रतिभा स्मृति कोष स्थापना गरेको हुँ ।’ उनका अनुसार सो कोषबाट कम्तीमा १० बच्चीलाई उच्च शिक्षासम्मको व्यवस्था गर्ने योजना बनाइएको छ । ‘त्यसपछि जब ती बालिकाले डिग्री सक्छन्, तब उनीहरु प्रत्येकले पनि एकजना गरीब बच्चीलाई पढाउनुपर्ने जिम्मा लिनुपर्ने हुन्छ ।’ उनले स्मृति कोषमा समेटिने शर्तको विषय खुलाउँदै भने–‘एउटा चेन(साङ्लो)को रुप दिन चाहन्छु म यो अभियानलाई । कोषबाट डिग्रीसम्मको पढाई सकेकाहरुले पहिला नै हामीसँग उनीहरु पढेपछि एक बच्चीलाई पढाउँछु भनेर सम्झौता गर्नेछन् ।’ 

बैंकर झलकप्रसाद खनालले छोरीको स्मृतिमा निर्माण गरिरहेका देवघाटस्थित क्रियापुत्री भवन । 

-------------------------------------------------------------------------------------------------------------------------------------------

खनालको समाजसेवाको सिलसिला अहिले सुरु भएको होइन । २०६६ सालदेखि नै उनले देवघाट र आसपासको क्षेत्रमा सामाजिक सेवा गरिरहेका छन् । खनाल परिवारका चार दाजुभाई र दिदीबहिनी मिलेर ०६६ सालमै पदम जगत स्मृति प्रतिष्ठान स्थापना गरेका थिए । प्रतिष्ठानको नाममा ६ लाख ५५ हजारको अक्षयकोष समेत स्थापना गरिएको थियो । सो प्रतिष्ठान खनालका दिवंगत बाबु–आमाको सम्झनामा स्थापित भएको हो । सो प्रतिष्ठानको नाममा जम्मा गरिएको अक्षयकोषको ब्याजबाट वर्षेनी गरीब तथा जेहेन्दार विद्यार्थीहरुले छात्रवृतिको अवसर पाइरहेका छन् । 

सोही प्रतिष्ठानको तर्फबाट देवघाटमा १ लाखको लागतमा चौतारो समेत बनाइएको छ । वरपिपल रोपेर हुर्किएपछि तिनीहरुको प्रतिष्ठा(विवाह) पनि भइसकेको छ । त्यही चौतारोको आडमा उनले छोरीको स्मृतिमा क्रियापुत्री भवन बनाउन लागेका हुन् । देवघाट क्षेत्र खनालको पुख्र्यौली थलो हो ।  

उनले देवघाट र आसपासको क्षेत्रको संस्कृति संरक्षणमा समेत उस्तै खर्च गरिरहेका छन् । बालन नृत्यको संरक्षणका लागि व्यक्तिगत रुपमा समेत लगानी गरेका छन् भने पर्यटन बोर्डलाई समेत अनुरोध गरी केही बजेट विनियोजन गरी यसको संरक्षण र सम्बद्र्धन कार्य अगाडि बढाएका छन् । 

त्यस अलावा काठमाण्डौको आफ्नै घरको तल्लो तलामा डेरा गरी बस्ने परिवारमा काम गर्दै आएकी, तर ८ कक्षा उत्तीर्णपछि पैसा नभएर अलपत्र परेकी १४ वर्षीया सुनिता भूजेललाई समेत उनले उद्धार गरी हाल स्कूल पठाइरहेका छन् । आफैसँग राखेर उनलाई पढाई लेखाईको  वातावरण मिलाएको उनले बताए ।  ‘प्रतिभाको स्मृति कोषबाट पूर्ण छात्रवृति पाउने अनिता पहिलो छात्रा हुन् ।’–उनले थपे । 

उनले दिवंगत दाजुको नामबाट समेत एउटा शैक्षिक छात्रवृति कोष स्थापना गर्ने घोषणा गरेका छन् । देवघाटमा अवस्थित बज्रयोगिनी माविमा २ लाख रुपैयाँको रामप्रसाद खनाल अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् । 

आगामी दिनमा अन्य सामाजिक काममा समेत सक्रिय हुने खनालको इच्छा छ । ‘मेरा छोराछोरीहरु सबै सेटल भइसकेका छन् । अब मलाई धेरै पैसा किन चाहियो र ?’जीवनको आफ्नो धोको सुनाउँदै उनले भने–‘अब जीवन रहुञ्जेल सामाजिक सेवामा समर्पित हुनेछु।’ 

२४ सै घण्टा पैसाको पछि मात्र कुद्ने, सम्पत्ति थुपारेर सामाजिक काममा एक कौडी खर्च गर्न आवश्यक नठान्ने चरम पैसामुखी देशका सीइओ र धनाढ्यहरुका लागि भिबोर बैंकका सीइओ खनाल उदाहरणीय बन्नसक्छन । सीइओको कुर्सीमा बसेर लाखौ आर्जन गरी मोजमस्तीमा उडाउनेहरुले पनि खनालले जस्तै सोचिदिए, यो देशका अशिक्षित कति बालबालिकाले पढ्न पाउथे होलान् ? सबैका लागि सोचनीय बन्नुपर्छ यो सवाल ।