काठमाण्डौ । एक महिला सेयरधनीका कारण कुमारी बैंक लिमीटेडले साधारणसभा सकेको १५ दिनमै विशेष साधारणसभा आह्वान गर्नुपर्ने आपत आइलागेको छ । 

कुमारी बैंकमा १०२६ कित्ता सेयर रहेकी नानूमाया देवकोटाका कारण बैंकले साधारणसभा सकेको १५ दिनमै विशेष साधारणसभा आह्वान गर्नुपर्ने बाध्यता आइलागेको हो । 

बैंकले आगामी जेठ ३१ गते डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा विशेष साधारणसभा आह्वान गरेको हो । बैंकले बैशाख २६ गते १७ औं र १८ औं वार्षिक साधारणसभा एकैसाथ बोलाएको थियो । 

साधारणसभाको मुख्य अजेण्डामध्ये ४ जना संचालकको निर्वाचन समेत गर्ने विषय पनि समेटिएको थियो । 

साधारणसभाका अन्य अजेण्डामा छलफल भई केही विषय पारित भए पनि नानूमायाले संचालक समितिमा महिलाको प्रतिनिधित्व नभएको भन्दै निर्वाचन प्रक्रिया रोक्न माग गर्दै पाटनस्थित उच्च अदालतमा रिट दायर गरेपछि संचालकको निर्वाचन भने हुन सकेको थिएन । अदालतले संचालकको निर्वाचन रोक्न बैशाख १९ गते अन्तरिम आदेश जारी गरेपछि निर्वाचनको पूर्वघोषित कार्यतालिका प्रभावित भएको थियो । 

कुमारी बैंकको सेयरधनी नानुमाया देवकोटाले कम्पनी ऐनको दफा ८६(२) बमोजिम कम्तीमा एकजना महिला संचालक हुन पाउने हक सुनिश्चित नगरी निर्वाचन गर्न लागेको भनी रिट निवेदन दायर गरेकी थिइन् । 

उच्च अदालत पाटनका एक न्यायाधीशले उनका रिट निवेदनमा सुनुवाई गर्दै विपक्षी(बैंक संचालक)को नाममा अन्तरिम आदेश जारी गरेको थियो। 
तर, सोही अदालतको जेठ १० गतेको संयुक्त इजलासले देवकोटाको निवेदन खारेज गरेपछि बैंकको जेठ ११ गते बसेको संचालक समितिको बैठकले रोकिएको संचालकको निर्वाचन गर्न भन्दै जेठ ३१ गते विशेष साधारणसभा बोलाएको हो । 

बैंकले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने गरी २ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी कम्तीमा एक महिलासहित जम्मा ४ जना संचालकहरुको निर्वाचन गर्ने गरी विशेष साधारणसभा आह्वान गरेको छ । 

यसरी सेयरधनी देवकोटाकै कारण कुमारी बैंकले विशेष साधारणसभा गर्नुपरेको छ भने साधारणसभामा नसमेटिएको संचालक समितिमा कम्तीमा एकजना महिला हुनैपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याउनुपर्ने भएको छ । 

कुमारी बैंकको यो विषय अन्य बैंक तथा कम्पनीहरुका लागि समेत नजिर बन्नसक्छ । 

आखिर ८ अर्ब बढी चुक्तापूँजी भएको कुमारी बैंकलाई १०२६ कित्ता सेयरकी धनी देवकोटाले हल्लाइदिएकी छिन् । देवकोटा गोरखाको सुलीकोट ६ स्थायी घर भई हाल काठमाण्डौ १६ मा बसोबास गर्ने लगानीकर्ता रहेकी समेत खुलेको छ । 

कुमारी बैंकमा उनीजस्तै करिब ६० हजार सेयरधनी छन् । 

बैंकले भने देवकोटाको अन्य बैंक तथा नेप्सेमा सूचिकृत कम्पनीमा समेत लगानी रहेको, तर त्यहाँ महिला संचालकको मुद्धा नउठाउने उनले कुमारीमै मात्र यो मुद्धा उठाएर अदालतसम्म पुग्नुलाई नियोजित खेल भन्दै आएको छ ।