काठमाण्डौ । चीनसँग जारी व्यापार वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईवटा ट्वीट विश्वको सेयर बजारका लागि निकै महंगो साबित भयो । 

उनको ट्वीटबाट लाखौं वा करोडौ मात्र डूबेन, विश्वभरको सेयर बजारमा उतारचढावको नयाँ सिलसिला सुरु भएको छ । 

ब्लुमबर्गको एक रिपोर्टका अनुसार ट्रम्पको ट्वीटमा प्रयोग भएको प्रति शब्दले ग्लोबल स्टक मार्केट(विश्व सेयरबजार)लाई १३ अर्ब डलरको नोक्सानी गर्यो ।

गत सातासम्म अमेरिका र व्यापार सम्बन्धसँग जोडिएको जोखिममा लगानीकर्ताहरुको खासै ध्यान गएको थिएन । यो हप्ताको सुरुवातमा समेत व्यापार वार्ता सफल हुनेमा लगानीकर्ताहरु ढुक्क झै देखिन्थे । 

ठूला केन्द्रीय बैंकहरुको व्यवहार नरम बनिसकेको थियो भने अमेरिकी कम्पनीहरुको आम्दानी समेत अनुमानभन्दा राम्रो भइरहेको थियो । 

सिड्नीका एक बजार रणनीतिकार एलिएनर क्रेगले भनेका छन् कि अमेरिका र चीनबीच हालै बढेको टकरावका कारण अनिश्चितताको नयाँ यात्रा सुरु भएको छ, किनभने यी दुई महाशक्तिबीच कुरा मिल्नेमा बजार र लगानीकर्ता ढुक्क देखिन्थे । यो साताको अन्तसम्ममा अवस्थामा चमात्कारिक परिवर्तन आुने छाँटकाँट समेत अब न्यून बनेको छ । यसले लगानीकर्ताहरुको मनोबलमा निकै क्रूर प्रहार गरेको उनले बताएका छन् ।

१०२ शब्दले हल्लियो विश्वबजार
डोनाल्ड ट्रम्पले दुईपटक गरी १०२ शब्दको ट्वीट गरेका थिए, जसले विश्वको सेयर बजारमा उथलपुथल मच्चाइदियो । एक हिसाबले भन्दा लगानीकर्ताहरुमा महाभूकम्प ल्याइदियो । 

वार्ताको आधारमा हेर्ने हो भने बितेको दुई दिनमा विकास भएका घटनाक्रम यो वर्ष बजारलाई ठूलै झड्का दिन काफी साबित भए । यस्तो अवस्थामा कतिपय देशमा जारी बुल मार्केट निरन्तर नहुने विश्लेषण समेत गर्न थालिएको छ ।

कतिपय विश्लेषकहरुले भने व्यापार वार्ता ढिलो चाँडो सफल हुने भन्दै लगानीकर्तालाई धैर्य गर्न आग्रह गरिरहेका छन् । तर, लगानीकर्ता यस्तो आग्रहको पछि दगुर्ने अवस्थामा छन् भन्ने बजारले देखाउँदैन । 

दुई महाशक्तिबीचको जारी वार्ता असफल भएसँगै कतिपय लगानीकर्ता भने प्रफिट बुक गरेर धमाधम बजारबाट बाहिरिरहेका छन् । बजारहरुमा देखिएको उच्च बिक्री चापले समेत लगानीकर्ताले आफ्नो रणनीति परिवर्तन गरिरहेका प्रष्ट देखिइसकेको समाचारमा उल्लेख छ ।

ओआण्डा एशिया प्यासिफिकका सिनियर मार्केट एनलिस्ट जेफ्री हैलेले भनेका छन्–‘मलाई लाग्छ लगानीकर्ताहरु सतर्क भई आफ्नो पोर्टफोलियोलाई सीमित गरिरहेका छन् ।’ 

उनका अनुसार वासिङ्टनमा बिहीबार र शुक्रबार अमेरिका र चीनबीच हुन लागेको बैठकले धेरै कुरा निर्भर गरिदिनेछ ।