काठमाण्डौ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको टुइन्स टावरमा भएको आक्रमण सायदै कसैले भुलेको होला । त्यो आतंककारी हमलामा २ हजार ९ सय ७७ जना सर्वसाधारणको ज्यान जानुका साथै ६ हजारभन्दा बढी मानिसको अंगभंग भएको थियो ।– एजेन्सी

अहिले त्यो घटनाले अमेरिकी जनतासँगै विश्वभरका मानिसहरुको आङ सिरिङ हुने गरेको छ । हरेक वर्ष सेप्टेम्बर ११ मा शान्तिप्रिय मानिसहरुले कालो दिनका रुपमा मनाउने गरेका छन् ।

यो घटनालाई ९/११ का रुपमा पनि चिन्छौँ । यही ९/११ अनौठो संयोग यो वर्ष भएको छ । एक अमेरिकी महिलाले ९/११ कै दिन ९/११ समय अर्थात् ९ बजेर ११ मिनेटमा ९÷११ तौला अर्थात् ९ पाउन्ड ११ औँस तौल भएकी छोरी जन्माइन् । यसरी अनौठो संयोगमा छोरी जन्मेपछि आमा पनि आश्चर्यमा परेकी छन् ।

बीबीसीका अनुसार क्रिष्टिना ब्राउन नाम दिइएकी बालिका अमेरिकाको टेनेसीस्थित जर्मनटाउनको एक अस्पतालमा जन्मेकी थिइन्। "उनी विध्वंस र विनाशबीच एउटा नवजीवन हुन्," आमा क्यामेट्रोअन मूर-ब्राउनले बताइन्।

क्रिष्टिनालाई शत्यक्रिया गरेर निकालिएको थियो र जतिबेला उनको जन्म समय र तौल लेखियो, अस्पतालका कर्मचारी छक्क परेका थिए।
"हामीले चिकित्सकले क्रिष्टिना ९:११ मा जन्मेको बताएको सुनेका थियौँ र जतिबेला उनको तौल ९.११ निस्कियो, सबैजना अचम्भित भयौँ," बुवा जस्टिन ब्राउनले भने।

अस्पतालको महिला सेवाकी प्रमुख राचेल ल्याङ्लिनले यस्तो संयोग बिरलै हुने बताइन्। "मैले यहाँ काम गरेको ३५ वर्ष भयो र मैले कहिल्यै शिशुको जन्ममिति, समय र तौल एउटै सङ्ख्या भएको देखेको थिइन," उनले भनिन्।