काठमाडौँ । कामना सेवा विकास बैंकले हकप्रदमा बिक्री नभएका शेयर हकप्रदमार्फत् बिक्री गर्न लागेको छ । बैंकले करीव ८ लाख ४९ हजार कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।  १५ प्रतिशत हकप्रद जारी गरेको बैंकले ६ लाख ३७ हजार ८ सय १६ कित्ता संस्थापक शेयर र २ लाख १२ हजार १ सय ४६ कित्ता साधारण शेयर लिलामीमार्फत् विक्री गर्ने लागेको जानकारी दिएको छ । बैंकले माग १५ गतेदेखि चैत्र ५ गतेसम्म ३० लाख ९४ हजार १ सय ५४ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

बैंकका शेयर खरीद गर्न इच्छुक लागनीकर्ताले वैशाख २४ गतेबाट ३१ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ  । साधारण तर्फ न्यूनतम १ सय रुपैयाँमा खरीदका लागि आवदेन गर्न पाइने शेयरमा कम्तीमा पनि १ सय कित्ता खरीदका लागि आवेदन दिनुपर्ने छ । तर संस्थापक तर्फका शेयर खरीद गर्नका लागि यस अघि नै कम्पनीको संस्थापक शेयरधनी हुनुपर्ने छ भने कम्तीमा पनि १ हजार कित्ताका लागि आवेदन दिनुपर्नें उल्लेख गरिएको छ ।
 
बैंकको १५ प्रतिशत हकप्रद शेयरको विक्री प्रबन्धक रहेको एनएमबी क्यापिटलमा लिलामीका शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले आफूले खरीद गर्न चाहेको रकम क्यापिटलको नाममा रहेको आवश्यक रकम जम्मा गरी आवेदनपत्र सिलबन्दी गरी क्यापिटलमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । 

हकप्रदको सम्पूर्ण प्रक्रियापछि बैंकको चुक्तापूँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ ।