काठमाण्डौ । कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ। 

आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ। अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश केन्दीय सदस्यले बैठकमा ‘कांग्रेसको अभियान, प्र्रदेश नम्बर २ को निर्वाचन’ भन्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश २ लाई केन्द्र बनाउँदै तेस्रो चरणको निर्वाचन हुने आठ जिल्लाका १२७ स्थानीय तहमा प्रतिनिधित्व गर्नेदेखि प्रधानमन्त्री देउवासम्मको सहभागितामा यही साउन १९ र २० गते धनुषामा बृहत् भेला आयोजना गर्न लागिएको कांग्रेस नेतासमेत रहेका कृषि विकासमन्त्री रामकृष्ण यादवले जानकारी गराए।

प्रदेश २ मा रहेको विद्रोही मधेसी शक्ति, राष्ट्रिय जनता पार्टी र मधेसी समुदायको मागका रूपमा रहेको संविधान संशोधन, सिंहदरबारमा मधेसीको प्रतिनिधित्व रहेको सन्देश दिनेजस्ता कार्य गर्ने÷गराउने पक्षमा कांग्रेस गएकाले एमाले पराजित हुने दाबी कृषिमन्त्री यादवले गरे। सरकार सञ्चालनमा महत्वपूर्ण भूमिकामा रहेका विमलेन्द्र निधि, आफूसहित खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवलगायत एक दर्जन सांसद भएको धनुषामा पार्टीको जिल्ला सभापति चयन हुन नसक्नु कमजोरी रहेको उनले स्वीकार गरे। ‘धनुषा कांग्रेसको विवादले निकास पाउने आधार र सम्भावना भने केही समययता बन्दै गएको छ’, उनले भने।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ का सांसद सुरेन्द्रप्रसाद यादवले शनिबार बिहान मात्र देउवाले आफूलगायत केही नेतासँग प्रदेश २ को निर्वाचन कुनै हालतमा जित्नुपर्ने र त्यसका लागि कुनै पनि प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सुनाए।

प्रदेश नम्बर २ मा विगतको जस्तो गल्ती मबाट हुँदैन। केन्द्रबाट टिकट वितरण गर्दिनँ। तपाईंहरूकै सल्लाह र सुझावमा उम्मेदवार चयन हुनेछ’, देउवाको भनाइ उद्धृत गर्दै सांसद यादवले भने, ‘आठै जिल्लामा केही दिनभित्रै केन्द्रीय नेतालाई पर्यवेक्षकका रूपमा खटाइनेछ।’ उनले मधेसका माग र त्यहाँको समुदायमा रहेकालाई टिकटका लागि सिफारिस गर्ने उल्लेख गर्दै पार्टी र सरकार सञ्चालकको कुरा नसुन्न देउवालाई आग्रह गरेका थिए।

केन्द्रीय सदस्य कल्याण गुरुङले प्रदेश २ मा टोल भेलासम्म गर्ने र त्यहाँको मागलाई तत्काल सरकारमार्फत पूरा गर्ने गरी निर्वाचन रणनीति बनाइएको खुलाए। उक्त क्षेत्रमा एमाले कमजोर रहेको उनको दाबी छ। संविधान संशोधन हुनुपर्नेलगायत राजपाका माग पूरा हुनुपर्छ भन्ने मान्यतामा रहेको उनले जानकारी दिए। यही साउन १९ गते धनुषामा हुने बृहत् भेला कांग्रेसको निर्वाचन परिणामको ‘जनमत’का रूपमै लिइएको दाबी उनले गरे। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।